विशेषले चोख्याउने,अख्तियार सर्वोच्च धाउने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन दश वटा मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका ती मुद्दामा चित्त नबुझेपछि आयोगले पुनरावेदन गरेको हो ।
गैरकानूनी लाभ तथा हानी,झुट्टा सरुवा पत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको,सार्वजनिक सम्पत्ति हानिनोक्सानी,झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति लिएको,सरकारी रकम हिनामिना,गलत प्रतिवेदन तयार पारेर भ्रष्टाचार गरेकोलगायत मुद्दामा पुनरावेदन गरिएको आयोगले जनाएको छ । विशेष अदालतबाट त्रुटिपूर्ण फैसला भएकोले बदर गरिनुपर्ने आयोगको माग छ ।
कुन–कुन मुद्दामा गरियो पुनरावेदन ?
हाइटेक नर्सरी निर्माणमा साढे चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले कृषि विकास कार्यालय हुम्लाका तत्कालिन कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि,विशेष अदालतको गत फाल्गुन १८ गतेको फैसलाबाट उनीहरुले सफाई पाएका हुन् ।
जग्गाको नक्सा परिवर्तन गरेको आरोपमा नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित चार जनामाथि मुद्दा दर्ता भएकोमा पनि विशेष अदालतले गत फाल्गुन १७ गते सफाई दिएको हो ।
नियुक्ति नै नभएको व्यक्तिलाई झुट्टा सरुवा पत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालिन शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि,विशेष अदालतले गत फागुल्न १७ गते प्रतिवादी सबैलाई सफाई दिने फैसला सुनायो ।
यस्तै, सामुदायिक वन उपभोक्ता समितिको रकम मिलीजुली दुरुपयोग गरेको दाबी गर्दै अख्तियारले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४, स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका तत्कालिन अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाउपर मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालको गत असार २७ गतेको फैसलाबाट उनीहरुले सफाई पाएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिएको ठहर गर्दै अख्तियारले नेपाल वायुसेवा निगमका तत्कालिन चालक सम्राटबहादुर शाहउपर मुद्दा दर्ता गरेकोमा विशेष अदालतले गत असार २७ गते सफाई दिएको हो ।
मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी दुरुपयोग गरेको भन्दै तत्कालिन उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालिन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएकोमा विशेष अदालतको गत पुस १८ गतेको फैसलाबाट सफाई पाएका थिए ।
पीसीआर परीक्षण नै नगरी गलत प्रतिवेदन तयार पारेर भ्रष्टाचार गरेको भन्दै गंगाला राष्ट्रिय ह्दय केन्द्रका तत्कालिन प्रयोगशाला प्रमुख विनोदकुमार यादवविरुद्ध मुद्दा दर्ता गरिएको थियो । विशेष अदालतको गत फागुल्न ६ गतेको फैसलाबाट उनले सफाई पाएका छन् ।
सोही कार्यमा मतियारको रुपमा काम गरेको भन्दै नारायणप्रसाद पौडेलउपर मुद्दा दर्ता गरिएकोमा विशेष अदालतले गत कात्तिक ३० गते सफाई दिएको हो ।
यस्तै, सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेको ठहर गर्दै मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीसहित चार जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो । तर, विशेष अदालतको गत माघ १८ गतेको फैसलाबाट प्रतिवादी सबैले सफाई पाएका छन् ।
टिप्पणीहरू