दक्षिण कोरियामा महाभियोग, भारतमा विरोध प्रदर्शन

दक्षिण कोरियामा महाभियोग, भारतमा विरोध प्रदर्शन
सुन्नुहोस्

भारतको संसद् भवन अगाडि विपक्षी दलका नेताहरुले विरोध प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनका संसदीय दलका नेता तथा भारतीय कँग्रेसका सांसद राहुल गान्धी, प्रियंका गान्धीलगायतले केन्द्र सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले भारतीय अर्बपति गौतम अडानीले अमेरिकामा घुस खुवाएको मामिलामा संयुक्त संसदीय समिति गठनको माग राखेका छन् । राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले आफू कारबाहीमा पर्ने डरले अडानीमाथि छानबिन अघि नबढाएको दाबी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उता दक्षिण कोरियाको राजनीतिमा पछिल्लो ३६ घण्टामा नाटकीय घटनाहरु भइरहेका छन् । राष्ट्रपति यून सुक योलले सैन्य कानुन घोषणा गरेको छ घण्टा नपुग्दै फिर्ता गरे पनि कोरियाको राजनीतिमा ठूलो हलचल मच्चिएकै छ । 

विपक्षीहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । दशौं हजार सर्वसाधारण राष्ट्रपतिको राजीनामा माग्दै सडकमा उत्रिएका छन् ।

राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारितका लागि संसदमा आठ मतको आवश्यक देखिएको छ । ३०० सदस्यीय दक्षिण कोरियाली संसदमा छ वटा विपक्षी दलको संख्या दुई तिहाइ २०० अर्थात १९२ पुगेको बताइन्छ । 

महाअभियोगको तयारीपछि राष्ट्रपतिका अति निकटस्थ रक्षामन्त्री किम योङ ह्युनसहित आधा दर्जन बढी उच्चपदस्थ कर्मचारीले राजीनामा दिएका छन् । त्यहाँको ट्रेड युनियनले राष्ट्रपतिले राजीनामा नदिएसम्म अनिश्चितकालीन हड्तालको घोषणा गरेको छ ।

टिप्पणीहरू