चीनद्वारा अमेरिकी हतियार बनाउनेमाथि प्रतिबन्ध,सम्पत्ति रोक्का
ताइवानलाई हतियार बिक्री गरेको निहुँमा चीनले १३ अमेरिकी हतियार उत्पादक कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । उसले त्यस्ता कम्पनीका छ जना कार्यकारीलाई चीन प्रवेशमा प्रतिबन्ध पनि लगाएको छ ।
आफ्नो अभिन्न अंग मान्दै आएको ताइवानलाई अमेरिकाले हतियार बिक्री गरेको भन्दै चीन क्रुद्ध भएको हो । चीनले उनीहरूको सम्पत्ति पनि रोक्का गरेको छ । ती कार्यकारीहरूले मुख्यभूमिसँगै हङकङ,मकाउलगायत चीनको भूमिमा प्रवेश गर्न पाउने छैनन् ।
यता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन्, ‘ताइवानको स्वतन्त्रता र ताइवान जलडमरूमा शान्ति मौलिक रूपमा असंगत विषय हुन् । ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दै आएको अमेरिकी जिद्दीले ताइवान स्वतन्त्रताको विरोध गर्ने र राष्ट्रिय पुनर्मिलन हासिल गर्ने चीनको दृढ संकल्पलाई कुनै हालतमा परिवर्तन गर्न सक्दैन ।’
सन् २०२१ देखि ताइपेईलाई बिक्री गर्ने कम्तीमा १७ हतियार कम्पनीहरुमा टेलिडाइन ब्राउन इन्जिनियरिङ्,ब्रिंक ड्रोन,र्यापिड फ्लाइट एलएलसी, रेड सिक्स सोलुसन,सिल्ड एआई, साइनेक्स, फायरस्टोर्म ल्याब्स, क्राटोस मानवरहित एरियल सिस्टम्स, ह्याभोकाई, नेरोस टेक्नोलोजी, साइबरलक्स कर्पोरेसन, डोमो ट्याक्टिकल कम्युनिकेसन्सलगायत छन् ।
चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएका कार्यकारीहरुमा बारबरा बोर्गोनोवी, जेरार्ड ह्युबर, चार्ल्स वुडबर्न, रिचर्ड डी क्रफोर्ड, बेथ एडलर र ब्लेक रेस्निक हुन् ।
टिप्पणीहरू