शव यात्रासहित पूर्वमेयर सिंहको पार्थिव शरीर सानेपा लगियो
काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय लगिएको छ ।
सिंहको शव बिहान ११ बजेसम्म चाक्सीबारीस्थित घरमै श्रद्धाञ्जलीका लागि राखिएको थियो । मध्यान्ह १२ बजे त्यहाँबाट शव यात्रासहित सानेपा पुर्याइएको हो ।
महानगर प्रहरी बलको बा १ ग ३४१३ नम्बरको गाडीमा चाक्सीवारी, क्षेत्रपाटी, नरदेवी, ताम्सी पाखा,डल्लु पुल, टेकु दोभान हुँदै दिवंगत सिंहको पार्थिव शरीर केही बेरअघि कांग्रेस मुख्यालय पुर्याइएको छ ।
८८ वर्षीय सिंहको गएराति चाक्सीबारीस्थित निवासमा निधन भएको थियो । उनको सम्मानमा आज काठमाडौँ महानगरपालिकाले शोक बिदा दिएको छ ।
टिप्पणीहरू