कार्यकर्तालाई प्रचण्डको निर्देशन : दह्रोसँग लाग्नू

कार्यकर्तालाई प्रचण्डको निर्देशन : दह्रोसँग लाग्नू

माओवादी केन्द्रले हालै सम्पन्न उपनिर्वाचनमा एमाले र कांग्रेसको गठबन्धनले राज्यशक्तिको चरम दुरुपयोग गर्दा पनि राम्रो जनमत प्राप्त गर्न नसकेको निष्कर्ष निकालेको छ । बरु माओवादीको जनमत गुणात्मक रुपले बढेको नेताहरुको समीक्षा छ।

मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकमा भएको छलफलबारे जानकारी दिदैँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सर्कुलर जारी गर्नुभएको हो । ‘उपनिर्वाचनमा उत्साहजनक परिणाम प्राप्त भएको छ र हाम्रो पार्टीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको देखिएको छ,’ सर्कुलरमा भनिएको छ, ‘कैयौं स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरूपयोगका बावजुद ती दुई पार्टीको जनमत ह्रासोन्मुख अवस्थामा देखिएको छ ।’

माओवादीलाई अझै नयाँ उचाईमा लैजान संगठन विस्तार गर्नुपर्ने र त्यसको लागि परिचालन हुन कार्यकर्ताहरुलाई निर्देशन पनि दिइएको छ । सर्कुलरमा थप भनिएको छ, ‘उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै जनसंगठनहरुलाई व्यापक रुपमा विस्तार गर्ने, पार्टीको विचार र नीतिगत कार्यसूचीलाई दह्रोसँग स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।’

त्यस्तै पार्टी प्रवेश गर्नेहरुलाई पूरानो पार्टीमा कायम रहेको जिम्मेवारी नै दिइने पनि माओवादीको निर्णय छ । ‘विगतमा एकीकरण÷समायोजन÷पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखी एकीकरण÷समायोजन÷प्रवेश हुँदाका बखत स्थापित बाम घटकहरूमा जुन–जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णयअनुसार समायोजन गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा उल्लेख छ ।
 

टिप्पणीहरू