प्रधानमन्त्री उपस्थित कार्यक्रम छल्दै आएका मेयर पहिले बैंगलोर, अहिले यतै
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई एउटै मञ्चमा उभ्याउने ललितपुर महानगरपालिकाको प्रयास असफल भएको छ । मेयर चिरिबाबु महर्जनले आज आयोजित महानगरको १०६औँ स्थापना दिवस कार्यक्रममा प्रधानमन्त्री ओली र छिमेकी महानगरका मेयर साहलाई निम्तो पठाएका थिए ।
प्रधानमन्त्री ओलीको अनुहार हेर्नै नचाहने बालेनलाई एउटै कार्यक्रममा उपस्थित गराउन मेयर महर्जन कस्सिएपछि महानगरका कर्मचारी र स्थानीयमा पनि अस्तिबाट कौतुहलता छाएको थियो । कार्यक्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई रोक्न महानगरले हिजोदखि कार्यक्रमस्थलमा सयौँको संख्यामा सुरक्षाकर्मी समेत खटाएको थियो । तर कार्यक्रममा बालेन गएनन् ।
बिहान साढे ८ बजेबाट सुरु हुने भनिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित प्रधानमन्त्री ओली करिब ९ बजेतिर मात्रै कार्यक्रमस्थल पुग्नुभयो । मेयर साहलाई भने ढिलोमा १० बजेभित्र कार्यक्रमस्थलमा उपस्थित हुन निम्तो पठाइएको थियो । तर कार्यक्रममा काठमाडौंका मेयर अनुपस्थित भएको महानगरकी अधिकृत विजेता सुवेदीले जानकारी दिइन् ।
कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि र विशिष्ट अतिथिमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की पनि अतिथिको रुपमा सहभागी भइन् ।
अधिकृत सुवेदीका अनुसार कार्यक्रम चलिरहँदा मेयर साह आउने धेरैको अनुमान थियो । ‘उहाँ १० बजेसम्म आउने कुरा थियो’, उनले भनिन्, ‘तर आउनुभएन । किन आउनुभएन, हामीलाई थाहा हुने कुरा भएन ।’
मेयर साह असअघि पनि इन्द्रजात्रा कार्यक्रममा प्रधानमन्त्री ओलीसँग एउटै मञ्च सेयर नगर्ने मनसायले भारत हानिएका थिए । इन्द्रजात्रा सकिएपछि रातिको उडानमा बैंगलोरबाट काठमाडौं फर्किए ।
टिप्पणीहरू