कोशीका उद्योगी विभाजित

कोशीका उद्योगी विभाजित

कोशी प्रदेश सरकारको लगानी सम्मेलन र औद्योगिक व्यापारिक मेला (एक्सपो) सम्बन्धमा प्रदेशका ठूला औद्योगिक संस्थाहरु विभाजित भएका छन् । विराटनगरस्थित उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशीबीच लगानी सम्मेनलसँगै एक्सपो आयोजनाको मितिलाई लिएर आपसी मनमुटाव श्रृजना भएको छ ।

उद्योग संगठन मोरङको व्यावस्थापनमा एक्सपोसँगै माघ ११ देखि १३ गते सम्मको प्रदेश लगानी सम्मेलनलाई वाणिज्य संघ कोशी प्रदेश समितिले समर्थन गरेको छ । तर नेपाल उद्योग परिसंघ र मोरङ व्यापार संघ एकलौटी रुपमा उद्योग संगठनले एक्सपोको मिति सारेर प्रदेश सरकारसँगको मिलेमतोमा लगानी सम्मेलन गर्न लागेको भन्दै चिढिएको बताइन्छ ।

विराटनगरका चार वटा ठूला औद्योगिक व्यापारिक संस्थाले हरेक वर्ष फरक प्रर्दशनी तथा व्यापारिक मेला आयोजना गर्दै आएका छन् । यसपटक उद्योग वाणिज्य संघ कोशीले दुई महिना अगावै निशुल्क कृषी प्रर्दशनी मेला आयोजना गरिसकेको छ । तर उद्योग संगठन मोरङ र उद्योग परिसंघ कोशीकोे मेला र लगानी सम्मेलनको  मिति जुधेपछि उनीहरुबीच तिक्तता शुरु भएको हो ।

मोरङ व्यापार संघले यो वर्ष एक्सपोको घोषणा गरेको छैन । व्यापार संघले परिसंघको एक्सोलाई सर्मथन गरेको छ । मेलामा विराटनगर महानगरपालिका, कोशी सरकारका मन्त्रालयलगायत विभिन्न दाताहरुले सहयोग गर्ने गरेको पाइन्छ । खुल्ला मैदानमा सशुल्क हुने मेलामा करोडौको कारोबार हुने गरेको छ । यस पटक प्रदेश सरकारले दोस्रो र तेस्रो मुलकका उद्योगीहरुलाई समेत निम्तो दिएर निजी क्षेत्रसँग साझेदारी गर्दै लगानी सम्मेनल गर्न लागेकाले सँगै आयोजना हुने एक्सपोको विशेष महत्व हुने देखिन्छ ।

आपसी सहमतिअनुसार उद्योग संगठन मोरङले पुसमा र परिसंघ कोशीले माघमा मेला आयोजना गर्ने भएका थिए । तर उद्योग संगठनले प्रदेश सरकारको लगानी सम्मेलनलाई पनि मिलाएर एक्सपो आयोजना गर्ने भन्दै मिति सारेको छ । त्यस सम्बन्धमा उद्योग परिसंघ कोशीले उद्योग संगठन मोरंङलाई  चित्त दुखाउदै चेतावनीसहितको लामो पत्र पठाएको बताइन्छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की, उद्योग संगठन र उद्योग परिसंघका पूर्वअध्यक्ष, जिल्ला प्रशासन र विराटनगर महानगरपालिकालाई समेत बोधार्थ दिइएको पत्रमा उद्योग संगठन मोरंङले एकलौटी मिति सारेर लगानी सम्मेलनसहित एक्सपो आयोजना गरेमा परिसंघले सोही मितिमा समानान्तर एक्सपो आयोजना गर्दै लगानी सम्मेनल बहिष्कार गर्ने चेतावनी दिएको छ ।

परिसंघका अध्यक्ष पवनकुमार सारडाले पत्रमा आक्रोश व्यक्त गर्दै भनेका छन, ‘लगानी सम्मेलन सबैको सहभागीतामा गर्ने र फरक फरक मितिमा एक्सपो आयोजना गर्ने सहमती विपरित मिति सारेर उद्योग संगठनले हामी उद्योगीहरुको चित्त दुखाएको छ । यसैले सहमति पालना नभएमा परिसंघ समानान्तर एक्सपोे लगाउन बाध्य हुनेछ ।

अध्यक्ष पवन सारडाका अनुसार सिएनआई कोशीले ११ देखि २० माघसम्म विराटनगर मुनालपथस्थित खाली मैदानमा र उद्योग संगठन मोरंगले ५ पुसदेखि विराटनगर डिग्री क्याम्पसको मैदानमा औद्योगिक मेला (एक्सपो) लगाउने सहमति गरेर सञ्चारमाध्यम मार्फत आआफनो तर्फबाट सार्वजनिक सूचना पनि प्रचारप्रसार गरेका थिए । तर पछि उद्योग संगठन मोरंङले दुबै मेलाको समयको ज्ञाप थोरै भयो भन्दै मिति सार्न आग्रह गरेपछि परिसंघले फागुन ११ देखि २० मा एक्सपो गर्ने निर्णय गरेको थियो । तर उद्योग संघठन मोरंङले चाँही कोशी प्रदेश सरकारको लगानी सम्मेलनलाई समेत समेटर एक्सपो आयोजना गर्ने भन्दै परिसंघले तोकेको पहिलेको मिति ११ देखि २० माघसम्म प्रादेशकि लगानी सम्मेलनसहित मेला आयोजना गर्ने निर्णय गरेको छ ।

उद्योग संगठनको यही  निर्णयबाट उद्योग परिसंघ आक्रोशित हुदै आपसी सहमति पालना नभएको भन्दै  समानान्तर मेला लगाउने चेतावनी दिएको हो । परिसंघ अध्यक्ष सारडा भन्छन,‘उहाँहरुकै आग्रहमा हामीले मेलाको मिति फागुनमा सार्यौं तर उहाँहरुले चाँही कोशी प्रदेश सरकारको लगानी सम्मेलनको हवाला दिँदै पहिले हामीले निर्णय गरेको मितिमा हामीसँग कुनै छलफल नै नगरी एकलौटी एक्सपो आयोजना गर्ने भन्दै प्रचारप्रसार गरिरहनुकोले हाम्रो चित्त दुखेको हो हामी यसमा घोर आपत्ति जनाउँछौं र गल्ति नसच्चिएमा लगानी सम्मेलन बहिष्कार पनि गर्नेछौ ।,’ अध्यक्ष सारडाले अझै समय बाँकी नै रहेकोले आफनो इतिहासको गरिमालाई जोगाउनका आपसी सहमति कायम गरेर एक्सपो आयोजना गर्न आग्रह गरेका छन् ।

एक्सपोसँग नजोडी अलग्गै लगानी सम्मेनल गर्न परिसंघ र व्यपार संघको आग्रह

उद्योग परिसंघ कोशीले लगानी सम्मेनलनलाई औद्योगिक सँस्थाको मेलासँग नजोडी अलग्गै होटल, रिर्सोट वा सभाघरमा सामूहिक रुपले भव्य रुपले लगानी सम्मेलन गर्न पनि आग्रह गरेको छ । उनले उद्योग संठनलाई पठाएको पत्रमा भनेका छन,  ‘सबै औद्योगिक सँस्थाहरु मिलेर वर्षमा साझा रुपले एउटै एक्सपो भव्य रुपले आयोजना गरौं भन्ने हाम्रो प्रस्ताव भएपनि यहाँहरुले नै उपेक्षा गर्दा अलग अलग एक्सपो आयोजना गर्नुपर्ने बाध्यता आइलागेको हो ।’

उद्योगी व्यापारीहरुको अर्को जेठो संस्था मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठी पनि लगानी सम्मेलन र एक्सपो अलग अलग विषय भएकोले कुनै एउटा संस्थाको आयोजनामा मात्र हुन नहुने बताउँछन् । अध्यक्ष राठी लगानी सम्मेलन औगोगिक लगानी र अर्थतन्त्रकाबारे साझा फोरम भएकोले कुनै एउटा संगठनलाई काखा र अरुलाई पाखा गर्दा राम्रो सन्देश नजाने बताउँछन् । अध्यक्ष राठी भन्छन, ‘सबै एक्सपोमा हामी पनि स्टल राख्छौं र घुम्न पनि जान्छौं तर लगानी सम्मेलनमा ने भनेर चाँही जान सक्दैनौ ।’

उद्योग वाणिज्य संघ र उद्योग संगठन भन्छन् : राम्रको कामलाई विवादमा ल्याउनु राम्रो हैन

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले एक्सपो वा लागनी सम्मेलन गर्नेबारे आफूहरुको कुनै सँस्थाबीच केही विवाद नरहेको कसैको विवादित राय हुन्छ भन्ने केही भन्न नसक्ने बताए । उनले आफुहरु तोकिएको मिति र पाएको जिम्मेवारी अनुसार एक्सपो  र लगानी सम्मेलन सम्पन्न गर्न निरन्तर जुटिरहेको बताए । अध्यक्ष सुरानाले भने, ‘प्रदेश सरकारको विषयमा प्रदेश सरकारले बोल्ने हो किन र कोसँग पार्टनरसिप गर्यो भनेर हामीले बोल्ने हैन हामी त पाएको जिम्मेवारीलाई बेस्ट लगाउन लागिपरिरहेका छौं योभन्दा बढी भन्नु हामीलाई केही छैन ।’

 नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेश समिति अध्यक्ष राजेन्द्र राउत प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन सबै उद्योग उद्योगी र आर्थिक सृदृढिकरणसँग सम्बन्धित भएकोले कसैले मैले आयोजना गर्न पाइन उसले मात्र पायो भनेर विवाद झिक्नु व्यर्थ हो भन्छन । अध्यक्ष राउतले उद्योग संगठन मोरङ नेपाल उद्योग बाणिज्य संघको सदस्य सँस्था भएको र उनले प्रदेश सरकारको लगानी सम्मेलनको व्यावस्थापन गर्न पाउनु गर्व र हौसलाको विषय भएको बताए । अध्यक्ष राउतले भने, ‘यसैले लगानी सम्मेनलाई सफल बनाउन हामीले पनि कोशीका मात्र नभएर देशभरका उद्योग बाणिज्य संघका शाखाहरुलाई लगानी सम्मेनलका बारेमा जानकारी गराउदै उपस्थित हुन परिपत्र पनि गरिसकेका छौं । हामीले जहिले पनि राज्यको सकारात्मक कामलाई सहयोग पुर्याउने हो असफल बनाउने हैन ।’
 
प्रदेश सरकारका आर्थिक सल्लाहकार भन्छन् :  यो विवाद नै होइन

कोशी प्रदेश सरकारले आगामी ११, १२ र १३ माघमा  पहिलो पटक लगानी सम्मेलन गर्ने तयारी थालेको छ । लगानी सम्मेलनबारे कोशी प्रदेश सरकारले अवधारण सहित  गत असोजमै निर्णय पनि गरिसकेको छ । तर कोशीका दुई ठूला औद्योगिक संघको मनमुटावले गर्दा प्रदेश सरकारको लगानी सम्मेलन पनि विवादमा परेको छ । उद्योग संगठन आफनो एक्सपोसँगै लगानी सम्मेलनको पनि उद्घाटन गराउने योजनामा छ । तर उद्योग परिसंघ भने एक्सपो र लगानी सम्मेलन अलग अलग विषय भएकोले लगानी सम्मेलन साझा रुपमा सरकारले अलग्गै स्थानमा गर्नुपर्ने माग गर्दै आएको छ ।

कोशी प्रदेश सरकारले प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औद्योगिक वातावरण बनेको सन्देश दिन लगानी सम्मेलन गर्नेबारे नीति कार्यक्रममा समावेश गरेर चालु वर्षका लागि तीन करोड बजेट पनि विनियोजन गरेको छ । कोशी प्रदेशका आार्थिक सल्लाहकार मोहन सुवेदीका अनुसार लगानी सम्मेलन निजी क्षेत्रको समन्वय सहकार्यमा लगानी वृद्धि गर्न तीन खम्बे नीतिका सम्पन्न हुने र सम्मेलनमा तेस्रो देशका लगानीकर्ताहरु पनि सहभागी हुनेछन् ।

लगानी सम्मेलनको मुख्य संयोजक कोशी प्रदेश सरकारका मुख्यमन्त्री हुनेछन् भने मन्त्रीहरु सदस्य हुनेछन् । अरु सबै संघसंस्थाहरु सहसंयोजक मात्र रहने छन् । लगानी सम्मेलनमा गर्नुपर्ने ३० वटा काम अलग अलग गरेर सरकार र निजी क्षेत्रलाई जिम्मेवारी छुटयाइएको छ । जसअनुसार उद्योग वाणिज्य संघ र अन्य संस्थाहरुले पनि समन्वय गर्ने काम गरिरहेका छन् । आर्थिक सल्लाहकार सुबेदीले भने, ‘परिसंघले पनि चित्त दुखाइरहनु हुँदैन एउटा जिम्मेवारी लिएर सहसंयोजकको भूमिका सफल बनाउनुपर्छ यो विवाद नै हैन सहजै समाधान हुन्छ, उद्योग संगठनले अवसर पारेर ईभेन्ट म्यानेज गर्ने प्रस्ताव गरेको मात्र हो ।’ सल्लाहकार सुवेदीका अनुसार लगानी सम्मेलन नीजि क्षेत्रको साझेदारीमा हरेक वर्ष भइरहने भएकोले आगामी दिनमा अर्को सँस्थाले पनि ईभेन्ट म्यानेज गर्नसक्ने छ । साथै चाँडै सम्पन्न हुने चिया सम्मेलन, पर्यटन वर्ष सम्मेलनलगायतका विभिन्न सम्मेलनमा पनि जिम्मेवारी लिन सक्नछन् ।

लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई निम्तो

उद्योग संगठन मोरङले संगठनले नोभेम्बर ११ र १२ मा सिंगापुरमा भएको ३८ औं एसिया प्यासिफिक इकोनोमिक फोरममा कन्फिडरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स इन्डस्ट्रिज (सीएसीसीआई अवार्ड प्राप्त गरेपछि त्यहाँ उपस्थित विदेशी लगानीकर्ताहरुलाई माघ ११ देखि विराटनगरमा प्रदेशस्तरीय लगानी सम्मेलन संयुक्त रुपमा सरकारसँग मिलेर आयोजना गर्न लागेकोले सहभागीका लागि आमन्त्रण पनि गरिसकेको छ । कोशी प्रदेशमा आयोजना हुने लगानी सम्मेलनबारे कोशी प्रदेश लगानी प्राधिकरणले चाँही परियोजनाका लागि व्यवस्थापन, सहजीकरण र समन्वय मात्र गर्नेछ । 

टिप्पणीहरू