रवि र छबिको बयान न्यायाधीश राईको इजलासमा

रवि र छबिको बयान न्यायाधीश राईको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा दायर मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । पक्राउ परेका रविसहित पाँच जनालाई बयानका लागि अदालतमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा जिल्ला सरकारी वकील कार्यालयले सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणको कसूरमा हिजो अभियोगपत्र दर्ता गरेको थियो । प्रमाण र मिसिल रुजु गर्ने काम सकिएपछि गोलाप्रथाद्वारा न्यायाधीश राईको इजलासमा पेशी परेको जनाइएको छ ।

लामिछाने र उनका व्यवसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशीसहितका प्रतिवादीको बयान र थुनछेक बहस राईकै इजालसमा शुरु भएको छ । प्रतिवादीहरुको बयान सुरु भइसकेको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनका अनुसार बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । 

यस प्रकरणमा ४४ जनालाई प्रतिवादी बनाइएकोमा कुल एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपैयाँ बिगो कायम गरिएको छ । जसमा सरकारी वकीलले लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ मागदाबी गरेका छन् । 

त्यस्तै, अभियोगपत्रमा सहकारी ठगीमा चारदेखि ६ वर्ष, संगठित अपराधमा थप ५० प्रतिशत सजायसहित सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद माग गरिएको छ ।
 

टिप्पणीहरू