जेजु एयरको जहाज दुर्घटनामा दुई जनाको जीवितै उद्धार, बाँकी सबैको निधन
दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको ज्यान गएको छ । १८१ यात्रु बोकेको विमान दुर्घटनामा उद्धार गरिएका २ बाहेक सबैको मृत्यु भएको हो ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान आज बिहान ६ बजे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । ६ जना चालक दलका सदस्य र १७५ यात्रु सवार रहेकोमा दुई जनाको मात्रै जीवित उद्धार भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दक्षिण कोरियाको समाचार संस्था योनहापका अनुसार विमानले दुई पटक अवरतणको प्रयास गरेको थियो । पहिलो पटक ल्याण्डिङ गेयर नखुलेपछि आकाशमै दुई फन्को लगाएको थियो । दोस्रो पटक पनि गेयर नखुलिरहेको अवस्थामा एकाएक चरा ठोकिएपछि अनियन्त्रित हुँदै धावनमार्गबाहिरको पर्खालमा ठोकिएको हो ।
दुर्घटना भएको १२ मिनेटमै घटनास्थल पुगेको उद्धार टोलीलाई आगो निभाउन ४३ मिनेट लागेको बताइएको छ । जहाजको खाद्यन्न कक्षबाट एक क्रु मेम्बर र बिजनेस सिटबाट एक यात्रुको मात्रै जीवित उद्धार भएको छ । जहाजमा सवारमध्ये दुई जना थाइ र अन्य सबै दक्षिण काेरियाकै नागरिक रहेकाे बताइन्छ ।
दुर्घटनाग्रस्त विमान अमेरिकी कम्पनी बोइङको ७३७-८०० मोडल हो ।
टिप्पणीहरू