चिनियाँलगायत दर्जनबढी विदेशी भाषा कक्षामा खुल्यो भर्ना
त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुलाएको छ । राजधानीको प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानीज, इटाली, कोरियन, अरविक, रसियन, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरुमा भर्ना खुलाएको हो ।
यीमध्ये कुनै पनि एक भाषा अध्ययनका लागि इच्छुक विद्यार्थीहरुलाई आवेदन दिन आह्वान गरिएको छ । दरखास्त म्याद पुस १६ गतेदेखि २९ गतेसम्म तोकिएको छ । अंग्रेजी लेखनबाहेक सबै भाषाको निम्ति एसएलसी वा एसईईमा कम्तीमा ‘सी’ ग्रेड प्राप्त वा सोसरह उत्तीर्ण भएको हुनुपर्ने छ ।
अंग्रेजी लेखनको लागि भने त्रिविबाट स्नातक वा सोसरह उत्तीर्ण भएको हुनुपर्छ । आवेदन फाराम दर्ता गर्न आउँदा अनिवार्य रुपमा सक्कल प्रमाणपत्र देखाई प्रतिलिपि रुजु गराउनुपर्ने सूचनामा उल्लेख छ । यससम्बन्धी विस्तृत जानकारी क्याम्पस प्रशासन शाखाबाट लिन सकिनेछ ।
टिप्पणीहरू