बैंकिङ्ग प्रणालीमा समस्या आउँदैन भनेर ठोकुवा गर्न सकिँदैन : राष्ट्र बैंक प्रवक्ता
नेपालीमा एउटा उखान छ, ‘कहिले सासुको पालो, कहिले बुहारीको पालो ।’ यतिबेला यो उखान सहकारी र बैंक तथा वित्तीय संस्थाको अवस्थासँग मेल खान पुगेको छ । सहकारी समस्या समाधान हुन नपाउँदै बैंक, वित्तिय संस्थामा समेत संकट देखिन थालेपछि यो उखान मिल्न गएको हो ।
नेपाल राष्ट्र बैंकले गत बुधबारदेखि नेपालगञ्जस्थित कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ । बैंक टाट पल्टिने अवस्थामा पुगेपछि राष्ट्र बैंकले ‘समस्याग्रस्त संस्था’ घोषित गर्दै सम्पूर्ण व्यवस्थापन जिम्मेवारी लिएको बताइन्छ । अर्को व्यवस्था नभएसम्मका लागि व्यवस्थापन नियन्त्रणमा लिँदै केन्द्रीय बैंकले आफ्नै व्यवस्थापन समूह खटाएको छ ।
समस्याग्रस्त घोषणासँगै बैंकको सेयर कारोबार पनि रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उक्त बैंकको सेयर कारोबार अनिश्चितकालका लागि रोक्का गरेको जनाएको छ । यसपछि बैंकका निक्षेपकर्ता र सेयर लगानीकर्तामा तनाव थपिएको छ । बैंकमा लगानी गरेकाहरुको करोडौं रुपैयाँ ‘बालुवामा पानी’ बराबर बन्न पुगेको छ । निक्षेपकर्ताहरु बचत रकमको फिर्ताबारे रनभुल्लमा छन् ।
समग्र बैंक तथा वित्तीय संस्थाको अवस्था ठीक रहेको दाबी गर्दै आएको केन्द्रीय बैंकको पछिल्लो कदमले बैंकिङ्ग क्षेत्रमा तरंग उत्पन्न भएको छ । मुलुकमा बैंक तथा वित्तीय संस्था टाट पल्टिन लागेको व्यापक चर्चा चलिरहँदा केन्द्रीय बैंकको उक्त निर्णयले थप पुष्टि गरिदिएको छ ।
मुलुकका सबै बैंक तथा वित्तीय संस्थाको अवस्था ठीक छ ? के सहकारीजस्तै बैंक, वित्तीय संस्था पनि टाट पल्टिने अवस्थामा पुगेका हुन् ? भन्ने प्रश्न अहिले प्रमुख बनेको छ । यसबारे सामाजिक सञ्जालमा समेत विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘विज्ञहरुले भनेको सुनिएको थियो– लघुवित्तको संकट सहकारीमा सर्यो, अब सहकारीको संकट विकास बैंकहरुमा अनि विस्तारै वाणिज्य बैंकसम्म सर्दै जानेछ । कतै यसैको सिलसिला त कर्णाली विकास बैंकमा देखा परेको होइन ? अर्थतन्त्रलाई लयमा फर्काउँछु भन्ने सरकार कता छ ?’
‘सहकारीजस्तै हुने पालो अब यस्ता बैंकहरुको,’ अर्काले लेखेका छन् । ‘बैंकमा समस्या देखिन शुरु भएको स्पष्ट भयो,’ एक जनाले भनेका छन् । ‘सहकारी डुब्छ भनेर कसले कल्पना गरेको थियो र । तर, सहकारीको रोग बैंकमा देखिसक्यो । सहकारी बचतकर्ता त अज्ञानता भएर डुबे, बैंकका बचतकर्ता चाँहि होशियार हौ है,’ सामाजिक सञ्जालमै भेटिएको छ ।
बैंक, वित्तीय संस्था डुब्ने चर्चा नयाँ बहस भने होइन । झण्डै दुई वर्षअघि नै नेपालका बैंक, वित्तीय संस्था टाट पल्टिने खबर एक पटक भाइरल भएको थियो । पछिल्लो समय कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणासँगै उक्त भाइरल विषय अगाडि आएको हो ।
गलत रिपोर्टिङको प्रयास
कर्णाली डेभलपमेन्ट बैंकले गलत रिपोर्टिङ गरेर नियामक निकाय राष्ट्र बैंकलाई गुमराहमा राख्ने प्रयास गरेको बताइन्छ । बैंकले गत साउन २० गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तसम्मको वित्तीय विवरणमा निष्क्रिय कर्जा अनुपात ७ प्रतिशत देखिएको थियो ।
त्यस्तै, पुँजीकोष अनुपात ७ दशमलब १४ प्रतिशत र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम एक सय ४१ प्रतिशत उल्लेख थियो । तर, केन्द्रीय बैंकले गत साउन ६ गतेदेखि ११ गतेसम्म गरेको निरीक्षणपछि कर्णाली डभेलपमेन्टको उक्त प्रतिवेदन गलत सावित भएको छ ।
राष्ट्र बैंकका अनुसार निरीक्षणको क्रममा बैंकको न्यूनतम पुँजीकोष अनुपात कायम नहुनुका साथै निष्क्रिय कर्जा अनुपात ४० दशमलब ८५ प्रतिशत पाइयो । यसले बैंकले नियामक निकाय राष्ट्र बैंक र आम सर्वसाधारणलाई झुक्याएर गलत रिपोर्टिङ गर्न खोजेको प्रष्ट हुन्छ नै सँगै अरु बैंक तथा वित्तिय संस्थाले पनि गलत रिपोर्टिङ त गरिरहेका छैनन् ? भन्ने प्रश्न पनि उब्जिएको छ ।
समस्या देखिएकै हो : अर्थविद्
बैंकर तथा अर्थशास्त्री केशव आचार्य बैंक तथा वित्तीय संस्थामा समस्या देखिन थालेको दाबी गर्छन् । राष्ट्र बैंकले बेलैमा उचित कदम नचाले यसले जटिल रुप लिनसक्ने उनको ठहर छ ।
‘शुरुमा सहकारीमा समस्या देखियो । तर, सरकारले ख्यालठट्टामा लिँदा त्यसले जटिल रुप लियो । अब बैंक, वित्तीय संस्थाहरुमा पनि समस्या शुरु भइसकेको छ । केन्द्रीय बैंकले यसलाई गम्भीर रुपमा लिनुपर्छ,’ उनले भने ।
उनका अनुसार बैंक, वित्तीय संस्थामा समस्या निम्तिनुको तीन वटा कारण छन् । पहिलो ऋण तिर्नुपर्दैन भन्दै दुर्गा प्रसाईंजस्ता व्यक्तिले आन्दोलन चर्काउनु । अनि ठूला ऋणीहरुले बैंकको साँवाब्याज नतिर्नु ।
दोस्रो घरजग्गा र सेयर कारोबार सुस्ताउनु । बैंक, वित्तीय संस्थाहरुको अधिकांश लगानी घरजग्गा र सेयरमा छ । तर, कोरोना महामारीपछि यो क्षेत्रमा आएको मन्दीका कारण पनि संकट निम्तिएको अर्थशास्त्री आचार्यको ठम्याई छ ।
तेस्रो भनेको बैंकमा निक्षेप थुप्रिनु तर कर्जा प्रवाह नहुनु हो । बैंक तथा वित्तीय संस्थाहरुले जति लगानी गर्यो, त्यति नै आम्दानी गर्ने हो । तर, निक्षेप लगानी हुन नसक्दा खर्च बढेसँगै आम्दानी घट्दै गएको उनी बताउँछन् । जसअनुसार कर्जाको माग भए पनि प्रवाह हुन सकेको छैन ।
‘बजारमा कर्जाको माग छ तर, प्रवाह हुन नसकेको हो । किनकि बैंकमा ठूला व्यापारी चौधरी ग्रुपजस्ताले कब्जा जमाएका छन् । उनीहरुले बैंकबाट अर्बौं ऋण लिएका छन् । त्यँहीबाट ठूल्ठूल्ला हाउजिङमा लगानी गरिएको छ । तर, मन्दीले सुस्ताएपछि अधिकांशले ऋणको साँवाब्याज नै तिर्न सकेका छैनन् । अनि ऋण तिर्न नसकेपछि बैंकले थप कर्जा नदिएको हो । जसले गर्दा कर्जा प्रवाह पनि ठप्प भएको देखिन्छ,’ आचार्यले भने ।
अब राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई साना तथा घरेलु उद्योगहरुमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले थपे, ‘यसो गरेमा मात्रै अहिलेको समस्याबाट बैंक, वित्तिय संस्था उम्किन सक्छ ।’ दशकअघि मुलुकका सरकारी बैंकमै (कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक) समस्या आएको स्मरण गर्दै उनले त्यतिबेला राष्ट्र बैंकले चालेको कदम पुनः अपनाउनुपर्ने समय आएको पनि बताए ।
अन्य बैंक, वित्तीय संस्था समस्यामा छैन : राष्ट्र बैंक
बजारमा बैंक, वित्तीय संस्था टाट पल्टिने चर्चा तीव्र रुपमा फैलिँदा नेपाल राष्ट्र बैंकले भने त्यस्तो कुनै अवस्था नरहेको दाबी गरेको छ । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जनआस्थासँग कुराकानी गर्दै अन्य बैंक तथा वित्तीय संस्थामा कुनै पनि समस्या नरहेको दाबी गरेका हुन् ।
उनले भने, ‘अरु बैंक, वित्तीय संस्थामा त्यस्तो कुनै समस्या छैन । केही समस्या भएमा हामी सार्वजनिक नै गर्छौंं ।’ राष्ट्र बैंकले दिनहुँ बैंक, वित्तीय संस्थाको सुपरिवेक्षण गरिरहेको जनाउँदै उनले हाल कुनै पनि समस्या नरहेको जनाए ।
यद्यपि, बैंकिङ्ग क्षेत्रमा समस्या आउँदैन भनेर यकिनका साथ भन्न नसकिने प्रवक्ता पौडेलको जिकिर छ । ‘हालसम्म कुनै समस्या छैन । तर, भविष्यमा बैंकिङ्ग प्रणालीमा समस्या आउँदैन भनेर ठोकुवा गर्न सकिँदैन,’ उनले भने ।
बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले जम्मा गरेको निक्षेपप्रति राष्ट्र बैंक जिम्मेवार रहेको उनको भनाइ छ । हाम्रो पहिलो प्राथमिकता भनेकै बैंक, वित्तीय संस्थामा जनताको भएको रकमको सुरक्षा गर्नु हो । त्यसैले, कुनै पनि बैंक, वित्तीय संस्था डुब्न लागेमा वा समस्यामा परेर राष्ट्र बैंक आफैं आम नागरिकलाई जानकारी गराउनेछ ।’
टिप्पणीहरू