टाट पल्टेको अवस्थामा कर्णाली विकास बैंक
कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) अनुसार कर्णालीलाई समस्याग्रस्त संस्था घोषणा गरिएको जनाइएको छ । योसँगै सो बैंकको व्यवस्थापन पनि केन्द्रीय बैंकले नियन्त्रणमा लिने निर्णय गरिएको छ । केन्द्रीय बैंक स्रोतका अनुसार कर्णाली विकास बैंकको अवस्था दयनीय छ । स्रोत भन्छ, ‘लामो ब्याख्या के गर्नु, मुख्य इण्डिकेटरहरुले टाटै उल्टने अवस्थामा पुगेको देखाउँछ ।’
बैंक सञ्चालनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ । उपनिर्देशकहरु विष्णु विश्वकर्मा र जुगल किशोर कुसवाहसमेत रहेको टोलीले भोलिदेखि कर्णाली विकास बैंकको जिम्मेवारी सम्हाल्ने जनाइएको छ । टोली भोलि बिहानसम्म नेपालगञ्ज पुग्दै छ ।
उक्त बैंकको आर्थिक अवस्था लामो समयदेखि दयनीय थियो । निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत र पुँजीकोष अनुपात निकै तल पुगेपछि हालै केन्द्रीय बैंकले कर्णाली विकास बैंकको कारोबार रोक्का गरेको अवस्था छ ।
टिप्पणीहरू