क्युआरले बढाउला त कम्युनिष्ट क्याडर ?

क्युआरले बढाउला त कम्युनिष्ट क्याडर ?
सुन्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताहरूले अबदेखि लेबी र सदस्यताबापतको शुल्क क्युआर कोडमार्फत जम्मा गर्न पाउने भएका छन् । प्रत्येक सदस्यले नवीकरणबापत मासिक १० रुपैयाँका दरले १ सय २० रुपैयाँ र लेबीबापत गच्छेअनुसार २० देखि एक हजार रुपैयाँसम्म बुझाउने गरेका छन् ।

यसअघि पनि एमालेले सदस्यहरूलाई विभिन्न अभियानसँग जोडिन डिजिटल प्रणाली लागु गरेको थियो । जिल्ला नेतृत्वमा आफ्नो टोली पुर्‍याउनका लागि वर्षको एकै पटक वा कतिपयले त अधिवेशन हुने बेला भएभरका सदस्यहरुको रकम एकमुष्ठ तिरेर नवीकरण गराउने चलन थियो । त्यसैगरी महाधिवेशनमा प्रतिनिधि हुनका लागि पनि बाठाहरूले एकमुष्ठ तिर्दै आएका थिए । यसले पार्टीभन्दा व्यक्तिप्रति बफादार र पैसावालहरूप्रति इमान्दार बन्ने अवस्था थियो । 

अहिले डिजिटाइज प्रणालीमा एमाले छोडेर एकीकृत समाजवादीलगायतका विभिन्न पार्टीमा गएका, मृत्यु भएका र निष्क्रिय बसेकाहरू पनि लिपिबद्ध छन् । यसै कारणले सो पार्टीमा १० लाख सदस्यताको होलसेल हिसाब बताउने गरिएको थियो । क्युआर कोडको आधार मान्ने हो भने एमालेको वास्तविक सदस्य संख्या यकिन गर्न सकिन्छ । एमालेको सदस्यता फागुन चैत महिनामा नवीकरण गर्ने चलन छ । फागुन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले वडा समितिलाई सक्रिय बनाउने अभियानसँगै नयाँ क्युआर कोड प्रणालीलाई कार्यान्वयनमा लैजाने योजना बनाएको दाबी गरिएको छ । मौजुदा अवस्थामा त्यहाँ ३ लाख ५० हजार जति पुराना सदस्यले मात्रै सदस्यता नवीकरण गरेका छन् । 

त्यसो त एमालेमा अहिले सदस्यता नवीकरण नगर्ने र कार्यक्रमहरूमा पनि उत्साहजनक उपस्थिति नजनाउने कार्यकर्ताहरूको जमात बढ्दो छ । सानो उदाहरणका निम्ति लुम्बिनी प्रदेश सम्पर्क कमिटीका ८ सय सदस्यले सदस्यता नै नवीकरण गरेनन् । नवीकरण भएकाहरूको हकमा पनि अध्यक्ष वा सचिवले एकमुष्ठ एक्लैले तिरेको अवस्था छ ।

दरबारमार्गमा मंसिर ७ गते भएको जागरण सभामा एमालेले भने जस्तै एक लाख कार्यकर्ता उतार्न सकेन भने मुख्य जिम्मेवारी पाएका राजन भट्टराईले कार्यक्रम सम्पन्न हुनु तीन दिनअघि ‘लागियो कम्बोडियातिर’ भन्दै फेसबुक स्टाटस राखेर निर्णय नै नगरिएको उपसंयोजकमा कैलाश ढुंगेलको नाम तोकी हिँडेपछि कार्यक्रम सोचेजस्तो नहुनु स्वाभाविकै बनिदियो ।  भट्टराईले ढुंगेललाई उपसंयोजक तोके पनि जागरण सभामा भने अरूले उनलाई ढिम्किनसमेत दिएका थिएनन् । 

टिप्पणीहरू