घुस्याहाको दोहोलो काढ्दै चीन सरकार

घुस्याहाको दोहोलो काढ्दै चीन सरकार
सुन्नुहोस्

चिनियाँ राष्ट्रपति सि चिनफिङ नेतृत्वको सरकार मुलुकमा वित्तीय र सामाजिक अनुशासन पालनामा दृढ संकल्पका साथ लागिपरेको देखिएको छ । विशेषगरी घुसमा संलग्न सरकारी पदाधिकारीहरुलाई छुट्टाछुट्टै तहका अदालतको विभिन्न समयको ठहरपछि विभिन्न सजाय दिइएको छ ।

विभिन्न नगरमा कार्यरत कम्युनिष्ट पार्टीका पूर्व सचिवहरुलाई अनुशासन उल्लंघन तथा घुस लिएको आरोपमा लामो कैद सजाय तोकिएको छ । साओयाङ् नगर पार्टी कमिटीका पूर्व सचिव तोङ् मिङ छ्याङ्लाई पाँच वर्षको जेल सजाय तोकिएको छ । उनलाई २०१३ मा अनुसन्धान गरेर २०१४ मा सजाय तोकिएको हो ।

यसैगरी, युयेयाङ् नगर कमिटीका पूर्व सचिव याङ् वाओहुआलाई सन् २०१४ मा अनुसन्धान गरी सोही वर्षको नोभेम्बरमा जेल पठाइयो । उनलाई ११ वर्षको कारबास सजाय तोकिएको छ ।

यियाङ् नगर कमिटीका पूर्व सचिव मा योङ्लाई पनि २०१५ मा गरिएको अनुसन्धानपछि २०१६ मा १२ वर्षको जेल सजाय तोकियो । उनी अझै जेल सजाय भुक्तान गरिरहेका छन् ।

साओयाङ् नगर कमिटीका पूर्व सचिव चोउ वेनशुनलाई सन् २०१५ मा अनुसन्धान गरी २०१७ मा १५ वर्षको काराबासमा पठाइएको थियो । उता हुआइहुवा नगर कमिटीका पूर्व सचिव लि यिलोङ्लाई २०१६ मा गरिएको अनुसन्धानपछि २०१८ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो । सोही नगरका पूर्वसचिव चाङ् वेनसियोङ्लाई सन् २०१६ मा अनुसन्धान गरी २०१८ मा १५ वर्षको निम्ति जेल पठाइएको छ ।

अन्य विभिन्न नगरका पूर्व सचिवहरु चेन सानसिन,छिन गुआङ्रोङ्, सियाङ् लिली, लिउ हेसेङ्, गोङ् वुशेङ्, लि चियाङ्गुओ, याङ् यिवेन, काओ चियोङ्फाङ्, माओ तेङ्फेइ, यी पेङ्फेइलाई अनुशासन उल्लंघनमा जेल सजाय भएको छ । वाङ् छुनलाई घुस लिएकोमा, पेङ् गुओफुलाई पनि घुसमा, दाई दाओजिनलाई अनुशासनमा र लेइ शाओये भने अनुशासन उल्लंघनमा पक्राउ परेका छन् । उनीहरुविरुद्धको कारबाही कानुनी प्रक्रियामा रहेको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरुमध्ये अधिकांश घुस काण्डमा संलग्न भएको पाइएको हो ।

टिप्पणीहरू