ल्हासामा हवाई यात्रुको ‘रेकर्ड ब्रेक’
चीनको स्वशासित क्षेत्र सिचाङ (तिब्बत) को राजधानी ल्हासा पुग्ने हवाई यात्रुको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ । त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२४ मा सेवा लिएका यात्रु संख्या ६० लाख पुगेको जनाइएको छ ।
सिचाङको हवाई उड्डयन प्रशासनले वार्षिक यात्रु संख्या क्रमशः बढेकाले डिसेम्बर ३० तारिखसम्म ६० लाख हवाई यात्रुले ल्हासा विमानस्थलको प्रयोग गरेका छन् । हवाई यात्रुको संख्या वार्षिक १० प्रतिशतले बढेको जनाइएको छ ।
विमानस्थलले गत वर्ष ४९ हजार उडानसँगै ४५ हजार टन कार्गो व्यवस्थापन गरेको थियो । ल्हासा विमानस्थलबाट हुने हवाई उडानले आन्तरिक र वाह्य गरी ७० शहरलाई जोडेको छ ।
ल्हासाका हस्तकला व्यवसायी काम्जुग दोर्जे भन्छन्, ‘पहिले थोरै उडान, थोरै रुट हुँदा चीनका भित्री भागमा व्यापार गर्न निकै गाह्रो थियो । अधिकांश प्रान्तीय राजधानी जोडिएकाले व्यापार व्यवसायमा निकै सजिलो भएको छ ।’
नागरिक उड्डयन प्रशासनले ल्हासा विमानस्थलले आगामी दिनमा आफ्नो क्षमता र रुट विस्तार गर्दै लैजाने विश्वास व्यक्त गर्दै यसले सिचाङको खुलापन र उच्चस्तरको आर्थिक तथा सामाजिक विकासमा सघाउने आशा गरिएको छ ।
टिप्पणीहरू