चिनियाँ विमानस्थलहरुमा किर्तिमानको लहर
चीनको ग्वाङ्झौस्थित पाइयुन अन्तर्राष्ट्रिय विमानस्थलले पनि हवाई यात्रु ओसारपसारमा नयाँ किर्तिमान राखेको छ । गत वर्ष २०२४ मा यात्रु संख्या सात करोड साठी लाख पुगेर नयाँ किर्तिमान राखिएको जनाइएको छ ।
चिनियाँ समाचार समिति सिन्हवाले विमानस्थल कार्यालयलाई उद्धृत गर्दै लेखेको समाचारमा भनिएको छ, ‘गतवर्ष सात करोड ६३ लाख ७० हजार यात्रुले यात्रा गरे जुन वार्षिक २०ं.८९ प्रतिशतको वृद्धि हो । यो वर्ष दोस्रो पटक सात करोड यात्रुको किर्तिमान पार गरेको छ । विमानस्थलले सन् २०१९ मा पहिलोचोटी सात करोडको किर्तिमान कायम गरेको थियो ।’
उक्त विमानस्थलसँग थप साठी हवाई रुट जोडिएकाले अन्तर्राष्ट्रिय विमानस्थल गत वर्ष निकै व्यस्त भएको हो । उक्त विमानस्थल चीनका सबैजसो आन्तरिक रुटसँग जोडिएको छ । पुरानो विमानस्थलले यात्रुको चापलाई धान्न नसकेपछि नयाँ विमानस्थलको सञ्चालन सन् २००४ मा ल्याइएको थियो ।
सन् २०२० मा कोभिड–१९ महामारीको समयमा पनि विमानस्थल व्यस्त थियो । विश्वका अधिकांश मुलुकमा हवाई यात्रुको चाप निकै कम भएको बेलामा पनि ग्वाङझौ विमानस्थलले ४ करोड ३८ लाख यात्रुलाई सेवा दिएको थियो ।
यसअघि चीनको स्वशासित क्षेत्र सिचाङ (तिब्बत) को राजधानी ल्हासा पुग्ने हवाई यात्रुको संख्याले पनि नयाँ कीर्तिमान कायम गरेको समाचार सार्वजनिक भइसकेको छ । त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२४ मा सेवा लिएका यात्रु संख्या ६० लाख पुगेको थियो ।
सिचाङको हवाई उड्डयन प्रशासनले वार्षिक यात्रु संख्या क्रमशः बढेकाले डिसेम्बर ३० तारिखसम्म ६० लाख हवाई यात्रुले ल्हासा विमानस्थलको प्रयोग गरेको र हवाई यात्रुको संख्या वार्षिक १० प्रतिशतले बढेको जनाइएको थियो ।
विमानस्थलले गत वर्ष ४९ हजार उडानसँगै ४५ हजार टन कार्गो व्यवस्थापन गरेको थियो । ल्हासा विमानस्थलबाट हुने हवाई उडानले आन्तरिक र वाह्य गरी ७० शहरलाई जोडेको छ ।
टिप्पणीहरू