‘बुहारीलाई एउटा फुलीचाहिँ लाइदेन त !”
– श्याम रिमाल
मिति २०८१ पुस १९, समय अपराह्न १ बजे, स्थान नेपाल प्रज्ञा –प्रतिष्ठान । निर्धारित समयभन्दा करिब ३७ मीनेटपछि कार्यक्रम कक्षमा आयोजक र प्रमुख अतिथि बल्ल झुल्किए । स्रोताका लागि छुट्याइएको कुर्सी नपुगेर पछि आउनेहरू उभिनेमा परे ।
भित्तामा सांग्रिला मिडिया ग्रुपको प्रतीकचिह्नसहित आमा, सपना र ताराहरु (पुस्तकको आवरण पृष्ठमा ह्रस्व नै लेखिएको छ) लोकार्पण र अन्तरसंवाद लेखिएको मल्टीपोस्टर टाँसिएको थियो भने साना अक्षरमा पुस्तकको नाम । प्रमुख अतिथि सम्माननीय (निम्तोपत्रको डिजिटल कार्डमा यही नै लेखिएको थियो) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अतिथिमा नेकपा (एमाले ) का नेता जितेन्द्रनारायण देव, पूर्वमन्त्री डा युवराज खतिवडादेखि सांसद सूर्य थापा, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, लिली थापा, मदन भण्डारी फाउण्डेसनका रामशरण प्याकुर्याललगायत तथा स्रोतामा जुम्लादेखिका नेताकार्यकर्ता सहभागी ।
कार्यक्रम सुरु भयो ठीक १ : ४० मा । उद्घोषक, सञ्चारकर्मी तथा लेखककी भाञ्जी पुनम पौडेलले स्रोतालाई बस्न असहज भएकामा माफी मागिहालिन् । कार्यक्रमका सभाध्यक्ष ‘माघ १९’ का लेखक ईश्वर पोखरेल स्वयंलाई पो राखियो । अतिथिहरूलाई आसन गराइएपछि आयोजक सांग्रिला बुक्सका तर्फबाट मदन खनालले कुनै पनि पुस्तक विमोचनमा यस्तो उपस्थिति नभएको र त्यो लेखकप्रति सम्मान भएको जनाए ।
त्यसपछि मञ्चमा भएका सबैले पुस्तक स्रोता र टेलिभिजन, फोटो जर्नालिस्टलाई देखाए, लोकार्पण गरे । टेलिभिजनकर्मीका क्यामेराले छेकेकाले पछाडि बस्नेले केही देख्नै पाएनन्, न त मञ्च, न नेता र समीक्षक । विमोचनपछि पुस्तकको सानो अंश वाचन गरिएको श्रवण सामग्री प्रस्तुत गरियो जसमा लेखक भन्दैथिए, मैले आमाको काखदेखि ताते ताते गर्न थालेदेखि तारा हेर्न र गन्न थालेको हुँ, अझै थाकेको छैन ।
त्यसपछि पहिलो समीक्षक उपप्राध्यापक डा. विन्दु शर्माले आमाहरूको प्राकृतिक, कञ्चन र विनाआडम्बरको स्वभावबारे चर्चा गर्दै कृतिमा तिनको सङ्घर्षशीलता, त्याग र साहसको वर्णन गरिएको बताइन् । उनले प्रदीपकुमार ज्ञवालीले लेखेको ‘विनासालिकका नायकहरू’ जस्तै आमाको नायकत्व कृतिमा प्रस्तुत गरिएको र किनारीकृत वर्गलाई अगाडि ल्याएकामा लेखकको प्रशंसा गरिन् ।
उनले कुनै कुनै ठाउँमा घटनाको समय वा तिथिमिति उल्लेख नगरिएको, सन्त ज्ञानदिलदासलाई निर्गुण भक्तिधाराका प्रथम प्रवत्र्तक भनिए पनि त्यसअघि सन्त शशिधर रहेको जस्ता लेखकीय कमजोरी औँल्याइन् । उनले कृतिमा मात्र होइन, व्यावहारिक जीवनमै पनि आमाहरूलाई नायकत्व प्रदान गरौँ भनी आग्रह गरिन् । डा. शर्माले भनिन्, ‘५१ प्रतिशत महिलालाई सबै क्षेत्रमा स्थान होस् ।’
अर्का समीक्षक शीतविन्दु अर्थात् प्रदीपकुमार ज्ञवालीले महत्वपूर्ण पुस्तक सिर्जनाका लागि लेखकलाई बधार्ई ज्ञापन गर्दै म्याक्सिम गोर्कीको ‘मदर’ उपन्यास र गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कवितासङ्ग्रह जस्तै गरी आमाको सम्झनामा प्रस्तुत कृति आएको बताए । पुस्तकमा सय वर्षको बदलिँदो नेपाली समाज, पारिवारिक संगठन र विघटन, जलवायु परिवर्तनले गर्नुपरेको बसाइँसराइको अवस्था पनि भेटिने चर्चा गर्दै यसबाट प्रजातान्त्रिक वाम आन्दोलन र त्यसमा पोखरेल जस्ता राजनीतिक कार्यकर्ता, नेताको त्यागबारे अहिलेको बिटा जेनरेसनले थाहा पाउन सक्ने स्पष्ट गरे ।
उहाँले आमाहरूको भूमिकाको कदर र उनीहरूको श्रमले राष्ट्रिय आयमा दिएको योगदानको हिसाब कति भएको छ भनी प्रश्न गर्नुभयो । पूर्वपरराष्ट्रमन्त्रीले अमेरिकी तत्कालीन राष्ट्रपति बाराक ओबामालाई सात वर्षकी इमिलीले आफ्नी आमा अर्बुद रोगले मरेको र उनको सपनाबारे लेखेको ‘टु ओबामा’ भनी सम्बोधन गरिएको अद्भुत पत्र र तिनमा उनले दिएको ‘ड्रिम त बिग ड्रिम्स’ को प्रसंग ल्याउँदै कृति सार्वकालिक र सार्वभौम भएको पाठकीय टिप्पणी गरे । साहित्यकार ज्ञवालीले कतिपय वाक्यमा यसो भएको रे, उसो भएको रे भनी ‘रे’ निपात पुुनरावृत्ति गरिएकाले अलि मिठास नदिएको पनि औंल्याए ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुई दिनअघि मात्र आफूले पाएको कृतिबारे समीक्षा गर्दै त्यो गहिरो मनबाट गुज्रेर प्रकाशन भएको बताए । कृतिबाट गरिबी र आँसुमार्फत लेखकको जीवनको जग बनेको कुरा चिन्न सकिने जनाउँदै लेखक पोखरेल राजनीतिमा लाग्नाको कारण सबै आमाहरूलाई, देशलाई खुसी दिन नै भएको स्पष्ट गरे । ‘पढ्नुपर्छ, केही गर्नुपर्छ, केही बन्नुपर्छ’ भन्ने आमाका प्रेरणाबाट लेखक आजको अवस्थामा आएको पनि गीतकार शर्माले स्पष्ट गरे ।
साहित्यप्रेमी शर्माले ‘ईश्वर दाइ’को अन्तर्जातीय विवाहलाई आमाले सहज रूपमा स्विकारेको तर एउटा फुलीचाहिँ बुहारी मीरा ध्वँजुलाई लगाइदिन भनेको र आँखादान गरेको भोलिपल्ट नै आमाको निधन भएको प्रसंग पनि सुनाए । उनको आकर्षक भनाइचाहिँँँ आआफ्नो स्वतन्त्रता भए पनि फेरि राजनीतिमा नआउन पूर्वराष्ट्रपति डा रामवरण यादव र भण्डारीलाई गरेको आग्रह नै थियो । ‘समाजमा बोक्सी, दाइजो, महिलामाथि घरेलु हिंसा व्याप्त रहेको र आमा–छोरीहरू जल्ने अवस्था रहेकामा उहाँहरूले सामाजिक परिवर्तनको नेतृत्व लिएर नायक बन्नु राम्रो हुन्छ ।’ अन्तमा उनले भने, ‘घर बाहिर निस्कँदा आफ्नी आमाको मुख हेरे पुग्छ, कुनै साइत पर्दैन ।’
प्रमुख अतिथिका आसनबाट लिखित मन्तव्य वाचन गर्दै एमालेका पूर्वउपाध्यक्ष भण्डारीले कांग्रेस महामन्त्रीको सुझावको जवाफ नदिएरै ११ मिनेटमा भनाइ सकाइन् । कृतिको भूमिका लेखक पनि भएकी उनले पोखरेललाई राजनीतिक व्यक्तित्व भए पनि सिद्धहस्त लेखक, साहित्यकार पनि भएको जनाउँदै जटिल आर्थिक अवस्थाका बिच देश र जनताप्रतिको दायित्वले आन्दोलनमा होमिएको भनी प्रशंसा गरिन् । उनले पोखरेलको वैचारिक– सैद्धान्तिक लेखरचनाले पार्टी एकता, संगठन सुदृढीकरण र वैचारिक धार प्रबल भएको जनाउँदै सर्जकहरूलाई सामाजिक–आर्थिक परिवर्तनमा भूमिका खेल्न आग्रह गरिन् ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूलाई लेखक भएर प्रस्तुत हुँदा अप्ठेरो लागेको र लडुँला लडुँला जस्तो भएको भनी विनम्रता प्रस्तुत गरे । कृति प्रकाशन गर्न कमलमणि दीक्षित तथा डा रामप्रसाद पोखरेल र शोभना पोखरेलले निकै आतुरी गरेको तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भूमिका लेख्ने प्रतिबद्धता व्यक्त गरे पनि नसकिएको जनाउँदै ‘पूर्वको रातो तारा’ का लेखकले प्रतिकूलतासँग जुध्नेक्रममा आफूले आमालाई पाएको र उनीसँगका स्मृति जस्ताको तस्तै उतार्ने कोसिस गरेको बताए । आमाको काखबाटै ताराहरू हेर्न र गन्न तथा जूनलाई नियालेर हेर्न सिकेको बताउँदै पूर्वउपप्रधानमन्त्रीले भने, ‘मेरी आमा निमित्त पात्र मात्र हो, यथार्थ ल्याएको हुँ, आमासँग देश र योद्धाको जीवन गाँसिएको छ । उहाँसँगै म जूनताराजस्तै चम्किलो सपना पाउँछु ।’
यही पुस २५ गते ७१ वर्ष लाग्दै गरेका उनले आगामी दिनमा समीक्षकहरूको टिप्पणी, सुझावअनुसार नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘कोही कोही मनले र मुखले दुईथरी बोल्ने गर्छन्, म भने मनले नै लेख्छु, तलवितल हुन्न, इमान्दारी हुन्छ ।’
‘मुखले बोलेर कसैको पनि चित्त नदुखाऊ है’ भनी आमाले दिएको सुझावलाई आफूले सम्झिरहने र फर्केर हेर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । तीन सय ७५ मूल्यमा छुट दिई लेखकका पिता दिवङ्गत भएको सोही दिन रु. तीन सयमा बिक्री गरिएको संस्मरणात्मक पुस्तकमा केही श्रोता, पाठक भने झुम्मिएका थिए ।
टिप्पणीहरू