रविको नाममा वकिल कुट्नेको पहिचान खोजिँदै
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा हिजो जाहेरकर्ता (पीडित)को तर्फबाट बहस गरेर बाहिर निस्कने क्रममा त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दोलखा घर बताउने ललित केसीलाई समातेको हो ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख (एसएसपी) वसन्त रजौरेले केसीलाई हिजो राति बबरमहलबाटै नियन्त्रणमा लिएको बताए । ‘नाम ललित केसी हो । उमेर ४५-४६ होला । यकिन भइसकेको छैन । हामी अनुसन्धान गर्दैछौ’, उनले भने ।
अधिवक्ता त्रिपाठीले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले कुटेको बताएका छन् । सो पार्टीका सभापति प्रतिवादी रहेको सहकारी ठगीको मुद्दामा पीडितको तर्फबाट वकालत गरेकै आधारमा आफूमाथि हातपात भएको उनको दावी छ । कुटपिटमा उत्रिएका केही अराजक व्यक्तिहरुले 'रवि दाइविरुद्ध मुद्दा लडेर जेल पुर्याउने तैं हैनस्' भनेर अश्लिल गालीसमेत गरेका थिए ।
तर, पक्राउ परेका केसीको पेशा र राजनीतिक संलग्नताबारे प्रहरीले खुलाएको छैन । त्यस सम्बन्धमा अहिले बुझ्ने काम भैरहेको काठमाडौँ प्रहरीले जनाएको छ ।
अदालतमै कानुन व्यवसायीमाथि भएको कुटपिटको घटनाप्रति नेपाल बार एशोशिएसन लगायत विभ्रिन्न संघसंस्था, व्यक्ति र सरोकारवाला निकायले आपत्ति जनाउँदै निन्दा र भर्त्सना गरिरहेका छन् ।
टिप्पणीहरू