जता पुगे पनि प्रचण्ड एउटै रटानमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय वर्तमान सरकारको आयु धेरै नभएको बताउँदै आउनुभएको छ । केही दिनअघि सिन्धुपाल्चोकको सुकुटे पुगेर उहाँले ‘यो सरकार आफैं ढल्ने’ ठोकुवा गर्नुभयो ।
त्यसअघि मतदातादाई धन्यवाद दिन मोरङको ग्रामथान गाउँपालिका जानुभएका प्रचण्डले त्यहाँ पनि भन्नुभएको थियो, ‘हामीलाई सरकारमा जान हतार भएको अर्थ नलागोस्, तर सत्तारुढ दलकै गतिविधिहरुले सरकार आफैं ढल्ने संकेत गरेको देखिन्छ ।’
हिजो आफ्नो गोरखाको आफ्नो निर्वाचन क्षेत्र पुगेर दोहोर्याउनुभयो, ‘रहस्यमयी र अपारदर्शी ढंगले बनेको सरकार हो, यो ।’ मुस्लिम समुदायका तीन दर्जन अगुवालाई पार्टी प्रवेश गराउँदै थप्नुभयो, ‘तपाईंहरुले साथ दिनुभयो भने हामी नयाँ परिवर्तन ल्याउन सक्छौँ ।’
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले आज गृह जिल्ला चितवनमा पनि ‘यो सरकार धेरै लामो समयसम्म नजाने’ दाबी गर्नुभएको छ । ‘मैले प्रष्ट भन्ने गरेको छु, यो गठबन्धन प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन’, उहाँले भन्नुभयो, ‘सरकारले गरेका कामहरू पनि उल्टो हुँदै गएका छन्, अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’
प्रचण्डले यसरी सरकार धेरै नटिक्ने दाबी गरिरहँदा आज सत्ता साझेदार नेपाली काँग्रेसका नेताहरु डा. शशांक कोइराला र चन्द भण्डारी दायाँबायाँ थिए । प्रचण्डको अभिव्यक्तिमा नेता कोइरालाले घुमाउरो सहमतिसमेत जनाए । ‘ठूलो दल मिलेर स्थीर सरकार दिनुपर्छ भन्ने चाहना हो’, अगाडि भने, ‘सरकार तलमाथि नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं ।’
यसबारे एक जना राजनीतिक विश्लेषक भन्छन्, ‘असार १७ गते मध्यरातीको घटना सम्झिने हो भने सरकार ढाल्न र बनाउन समय लाग्दैन भन्ने स्पष्ट हुन्छ । प्रचण्डजी अहिले नै सरकारमा जान इच्छुक हुनुभएको हो जस्तो लाग्दैन, तर उहाँले होमवर्क चाहिँ गरिरहेको देखिन्छ ।’
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिढिएका प्रचण्डले अहिले शक्ति सञ्चय गरिरहेको उनको तर्क छ । ‘विभिन्न जिल्लाको दौडधुप र साना दलहरुसँगको मार्चाबन्दीबाट उहाँले शक्ति सञ्चयको रणनीति चाल्नुभएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ’, उनको विश्लेषण छ ।
टिप्पणीहरू