आज पनि प्रधानमन्त्रीका सबै कार्यक्रम रध्द

आज पनि प्रधानमन्त्रीका सबै कार्यक्रम रध्द
सुन्नुहोस्

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण दुई दिनदेखि बालुवाटारमा आराम गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वनिर्धारित आजको सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ । 

स्वास्थ्य अवस्थामा सुधार नभएपछि आजका लागि तय भएको कार्यक्रम  स्थगित गरिएको बुझिएको छ । आज बिहान १० बजे उहाँ हेलिकप्टरमार्फत पाल्पाको बगनासकाली गाउँपालिका जाने कार्यक्रम थियो । 

सवा ११ बजे गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन,सवा १२ बजे हेलिकप्टरमार्फत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रस्थान,साढे १२ बजे तिनाउ गाउँपालिका भवन समुद्घाटन,सिद्धबाबा सुरुङ्ग ब्रेक–थ्रु,मन्दिर शिलान्यास,दिउँसो २ बजे बुटवलको गोरुसिङ्गे सडक शिलान्यास सभा र साढे ३ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट काठमाडौं फिर्ता हुने कार्यक्रम निर्धारित थियो । 

तर, चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि बेड रेष्टमा रहनुभएका प्रधानमन्त्रीले आजका सबै कार्यक्रम ‘क्यान्सिल’ गरेको उहाँको सचिवालयले जनाएको छ । 

मंगलबार बेलुका बालुवाटारमै एमाले सचिवालय बैठक डाकेर बामदेव गौतमको पार्टी प्रवेशसम्बन्धी प्रक्रियामा सम्पूर्णतः रोक लगाउने निर्णय गराउनुभएका उहाँ राती दुई बजेसम्म कसैको जन्मदिनमा सरिक हुनुहुन्थ्यो । त्यस अवसरमा खाएको केक र चिसो मौसमबीच अबेरसम्म रात्री बसाईका कारण ओलीको स्वास्थ्य बिग्रिएको बुझिएको छ ।

टिप्पणीहरू