बालमन्दिरको जग्गा प्रकरणमा नयाँ ट्विस्ट, मानव अधिकार आयोगको विशेष चासो

काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले चासो दिएको छ । जग्गा भाडामा लगाउँदा अनियमितता गर्नेहरुविरुद्ध मुद्दा नचलाउने निर्णयबारे आयोगले अनुसन्धान थालेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता डा.टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै स्वविवेकीय क्षेत्राधिकार प्रयोग गरेर उक्त घटनाको छानबिन प्रारम्भ गरेको जानकारी गराएका छन् ।
जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा संगठनकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको जनाउँदै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आयोगले भनेको छ, ‘उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको छ ।’
२०७२ सालमा बालमन्दिरका तर्फबाट बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा बृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि बालमन्दिरको २९ रोपनी ४ आना जग्गा सस्तो भाडामा दिई दुरुपयोग गरेको आरोप छ । त्यतिबेला संगठनकी अध्यक्ष रिता सिंह वैद्य थिइन् ।
उनी हालका उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । वैद्यसहित २० जनाविरुद्ध यस प्रकरणमा गत वैशाखमै पक्राउ पूर्जी जारी भएको थियो । तर उनी हालसम्म पक्राउ परेकी छैनन् । प्रहरीले घटनाबारे अनुसन्धान गरेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएकोमा मुद्दा नचलाउने रायसहितको प्रतिवेदन तहगत हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेपछि घटनाले अर्को मोड लिन लागेको हो ।
टिप्पणीहरू