प्रधानमन्त्रीद्वारा सेवा दलप्रति आभार प्रकट

प्रधानमन्त्रीद्वारा सेवा दलप्रति आभार प्रकट

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता हुने बताउनुभएको छ ।

राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । युवाको महत्व मनन गर्न प्रधानमन्त्रीको विशेष आग्रहसमेत छ । 

'आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता रहेको हुँदा यस कार्यक्रमको महत्व मैले मनन गरेको छु, सबैलाई मनन गर्न आग्रह गर्दछु', उहाँले भन्नुभयो, 'युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव प्रयोग गर्न प्रतिवद्ध रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।'

त्यसक्रममा उहाँले राष्ट्रिय सेवा दल स्थापनाको अभिप्राय र आवश्यकतामाथि चर्चासमेत गर्नुभएको थियो । नैतिकवान, क्षमतावान, देशभक्त युवा तयारगरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित सेवा दल बनेको प्रष्ट पार्नुभयो । सोहीमुताबिक  युवाहरुको विकासमा सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले जिकिरसमेत गर्नुभयो ।  

राष्ट्रलाई आवश्यक परेका बेला निःस्वार्थ भावबाट समर्पित भइ नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उहाँले सेवा दलप्रति आभार प्रकट गर्नुभयो । विपद्को उच्च जोखिम भएको नेपालमा तालिमप्राप्त स्वयंसेवक उत्पादन गर्नसक्ने बनाउनु कार्यक्रमको मुख्य ध्येय भएको प्रधानमन्त्रीको भनाई छ ।

टिप्पणीहरू