सरकारी कर्मचारीका सन्तानलाई छात्रवृत्ति

सरकारी कर्मचारीका सन्तानलाई छात्रवृत्ति

सरकारले निजामती कर्मचारीका सन्ततिलाई दिने छात्रवृत्तिका लागि आवेदन खुलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना प्रकाशित गर्दै १५ दिनभित्र दरखास्त पेश गर्न भनेको हो । 

निजामती सेवा ऐन, २०४९, स्वास्थ्य सेवा ऐन, ०५३, व्यवस्थापिका संसद् ऐन, ०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन, ०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततिले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । 

कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा २.४ जीपीए वा ५० प्रतिशतभन्दा बढी अंक ल्याएर स्वदेशी विश्वविद्यालय वा क्याम्पसहरुमा स्नातक तहमा भर्ना भएकाले दरखास्त दिन पाउनेछन् । दरखास्त दिने अन्तिम मितिसम्म स्नातक तह वा सो सरहको प्रथम वा दोस्रो सेमेष्टरको प्रयोगात्मक परीक्षाबाहेक अन्तिम परीक्षा दिइरहेको र २५ वर्ष उमेर पूरा नभएको हुनुपर्छ ।

साथै, निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, संघ, प्रदेश र स्थानीय सरकार वा अन्य सार्वजनिक सेवाको पदमा स्थायी नियुक्ति नभएको हुनुपर्ने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

टिप्पणीहरू