मुख्यमन्त्रीको अडानपछि मधेशमा एसईई अनिश्चित

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो बिहीबारदेखि शुरु हुँदैछ । तर, मधेश प्रदेश सरकारले भने गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्त नगरे परीक्षा प्रक्रियामा सामेल नहुने चेतावनी दिएपछि परीक्षाबारे अनेक अड्कलबाजी भएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले परीक्षा प्रणालीमा शक्ति र प्रभावको दुरुपयोग रोक्न गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन हुनुपर्ने अन्यथा एसईई परीक्षा सञ्चालन प्रक्रियामा प्रदेश सरकार सामेल नहुने चेतावनी दिएका छन् ।
मुख्यमन्त्री कार्यालयको विज्ञप्तिमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसईई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउनसक्ने व्यहोरा उल्लेख छ । प्रदेशको शैक्षिक अवस्थामा सुधार ल्याउन विद्यमान परीक्षा प्रणालीका प्रक्रियामा नयाँपन ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट गर्न यसअघि नै निर्देशन दिइएको थियो । तर साविककै व्यवस्थाबमोजिम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको भन्दै मुख्यमन्त्री सिंह आक्रोशित भएका हुन् ।
टिप्पणीहरू