एमाले अध्यक्षका छोरा पक्राउ, घरमा खानतलासी

एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बूढाको घर प्रहरीले खानतलासी गरेको छ । बिहान छोरालाई पक्राउ गरेपछि बेलुकी कैलालीको धनगढी विमानस्थल नजिकैको घरमा खानतलासी गरिएको स्थानीयले बताएका छन् ।
बूढाको छोरासहित पक्राउ परेका अर्का एक जनालाईसमेत गाडीमा लिएर आएको प्रहरी टोलीले उनको कोठामा विशेष निरीक्षण गरेको थियो । तर, केही पनि फेला नपरेपछि टोली साँझ साढे ६ बजे त्यहाँबाट फर्केको छ ।
बूढाका छोरा र अर्का एक जनालाई लागुऔषध कारोबारको आरोपमा भनेर समातिएको स्रोतको दाबी छ । पक्राउ परेका व्यक्तिबारे प्रहरी प्रशासनले थप जानकारी दिएको छैन । प्रहरीले जनप्रतिनिधिसहितको रोहबरमा मुचुल्का उठाएर घरको खानतलासी गरेको थियो ।
उक्त घरको स्वामित्वलाई लिएर यसअघि पनि विवाद उत्पन्न भएको थियो । गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम देउवाले समेत बूढाको भनिएको घरमा आफ्नोसमेत स्वामित्व रहेको बताउँदै आएका छन् । व्यावसायिक साझेदारको नाताले उनीहरुबीच किचलो बढेको एमालेजनको बुझाइ छ ।
टिप्पणीहरू