बजेट माग्न दिइएको समय सकिँदै

बजेट माग्न दिइएको समय सकिँदै
सुन्नुहोस्

आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणका निम्ति प्रस्ताव बुझाउन अब पाँच दिन मात्र बाँकी छ । अर्थ मन्त्रालयले बजेट प्रस्तावका लागि दिएको एक महिने समयावधि आउँदो चैत १५ गते सकिँदैछ । गत फागुन १५ गते विभिन्न निकायलाई पत्राचार गर्दै अर्थले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ बमोजिम मार्गदर्शन जारी गरिएको र बजेट प्रस्ताव गर्न भनेको थियो । 

स्रोत व्यवस्थापनमा परेको दबाबलाई मध्यनजर गरेर र  सार्वजनिक खर्चको उपलब्धि बढाएर आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी प्रस्ताव गर्न मन्त्रालयले निर्देशन दिएको थियो । आयोजना तथा कार्यक्रम प्राथमिकीकरण गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसलाई गम्भीरतापूर्वक लिन पनि ध्यानाकर्षण गराएको थियो । 

तोकिएको अवधिभित्र मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गरिसक्ने व्यवस्था मिलाउन भन्दै मन्त्रालयले केही सीमा पनि तोकेको हो । जसमा मन्त्रालयबाट प्राप्त सीमाभित्र रहेर वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गर्नुपर्ने, कार्यान्वयनको क्रममा रकमान्तर र कार्यक्रम संशोधन गर्न नपर्नेगरी यथार्थपरक बजेटका लागि प्रस्ताव गर्नुपर्नेलगायत छन् । 

त्यसैगरी, आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० अनुकूल हुनेगरी कार्यक्रम तथा आयोजना प्रस्ताव गर्न, विनियोजन दक्षता कायम गर्न आयोजनाको उद्देश्यसँग प्रत्यक्ष सम्बन्धित क्रियाकलापमा मात्र बजेट प्रस्ताव गर्न, चालु खर्चमा मितव्ययिता कायम गर्नेगरी अत्यावश्यक बजेट मात्र प्रस्ताव गर्न, एकै प्रकृतिका क्रियाकलापहरु विभिन्न उपशीर्षकमा भएमा एकीकृत गरी व्यवस्थित गर्न भनिएको थियो । 

‘आगामी आर्थिक वर्षको बजेट तर्जुमालाई यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि हुनेगरी क्रियाकलाप निर्धारण गरी आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रमहरु मिति २०८१–१२–१५ गतेभित्र मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गरिसक्ने व्यवस्था मिलाउनुहुन समेत अनुरोध छ’,पत्रमा उल्लेख छ ।

टिप्पणीहरू