विद्यालयमा बालेनले छोएन, अख्तियारले छोडेन !

विद्यालयमा बालेनले छोएन, अख्तियारले छोडेन  !

– यदुनाथ बञ्जारा

विद्यालय व्यवस्थापन समितिको कमाउ धन्दाको चक्रब्युहमा परेको कुलेश्वर मावि काठमाडौँलाई अख्तियारले डामेको छ । काठमाडौँँका मेयर बालेन साहले नियन्त्रणमा लिन नसकेको शैक्षिक क्षेत्रमा हुने आर्थिक अनियमिततालाई अन्ततः अख्तियारले नियन्त्रणमा लिएर भ्रष्टाचार मुद्दा चलाएको छ । कुलेश्वर माविले आर्थिक अनियमितता गरेको भन्दै अन्तिम छानबिन गरी गत बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । प्राथमिक तहमा कार्यरत राहत शिक्षक गायत्री सुवेदी अनुपस्थित रहेको बेला निजको स्थानमा सहायक प्रधानाध्यापक शिवहरि घिमिरेको नाता पर्ने व्यक्तिलाई खेताला राखेको र चेक जारी गरी तलबसमेत खुवाएकोले गैरकानुनी रूपमा शिक्षक राख्नेलाई ‘प्रचलित कानुनबमोजिम कारबाही हुन’ भन्‍ने उजुरीउपर अनुसन्धान हुँदा प्रधानाध्यापक सानुकान्छा नेपालले झुट्टा बिल भरपाई बनाई बि.सं. २०८० सालको माघ महिनादेखि वि.सं. २०८१ असार महिनासम्मको तलब भत्ता निकाशा माग गरेको, अनुपस्थित शिक्षकको ठाउँमा श्रुती भण्डारी भनिने अम्बिका घिमिरेलाई मिति २०८० फागुन १ गतेदेखि २०८१ असार महिनासम्म रु. १,५७,९१५।– तलब–भत्ता भुक्तानीसमेत गरेकोले भ्रष्टाचार निवारण ऐन २०५९ दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रकम असुलउपर हुन मागदाबी लिइएको बुझिएको छ ।

सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलार्ई दिएको खाजा अनुदान रकम कुलेश्वर माविले असोजयता अपचलन गरेको आरोप छ । उक्त विद्यालयमा ७ सय बढी विद्यार्थी अध्ययनरत छन् । संघीय सरकारले कक्षा ६ सम्मलाई १५ रूपैयाँ दिने गरेकोमा महानगरपालिकाले १५ रूपैयाँ थप्ने गरेको थियो भने बाँकी मावि तहसम्मका विद्यार्थीलार्ई प्रतिविद्यार्थी दैनिक २० रूपैयाँ उपलब्ध गराउँथ्यो ।

संघीय र स्थानीय सरकारले खाजा खर्चमा अनुदान दिए पनि विद्यालयले स्थान अभाव देखाएर यो सुविधा दिएको छैन । असोजदेखि फागुनसम्म ६ महिनाको औसत रकम हिसाब गर्ने हो भने २६ लाखभन्दा बढी हुन आउँछ । विद्यार्थीलार्ई नदिएर के गरे त्यो छुट्टै खोजीको विषय बनेको छ । नम्बर १४ का वडा अध्यक्ष कांग्रेसबाट सुमन श्रेष्ठ रहेका छन् । शिक्षा समितिका संयोजक पनि हुन् । प्रधानाध्यापक सानुकान्छा नेपाल नुवाकोटे कांग्रेस हुन् । उनी पूर्वमन्त्रीद्वय रामशरण महत र प्रकाशशरण महतका साथी र गृहमन्त्री रमेश लेखकका दोस्त हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ सुवेदी र प्रअ दुबै कांग्रेसनिकट भएका कारण विद्यार्थीमाथि घात गर्न यस्तरी हौसला मिलेको बताइन्छ ।

बेलकोटगढी नुवाकोटका सानुकान्छा नेपाल गत स्थानीय चुनावमा पालिका अध्यक्षको टिकट पाउने अन्तिम तयारीमा थिए तर सिट माओवादी उम्मेदवारले पाउने भएपछि खुम्चिए । उनले महानगरबाट शौचालय बनाउन ल्याएको १० लाख बजेट टिनको छाना मात्र फेरेर स्वाहा बनाएको प्रत्यक्षदर्शीहरूको दावी छ । अहिले आर्थिक अनियमितताको आरोपमा प्रअसहित ४ जना निलम्बनमा परेका छन तर पनि नयाँ नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन व्यवस्थापन समितिले आलटाल गरिरहेको छ ।
 

टिप्पणीहरू