लोकतान्त्रिक अपाङ्ग संघ चुनावमा देउवा–गगनगुट, एकलौटीको यो रुप

नेपाली कांग्रेसको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनको नयाँ नेतृत्व चयनमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको हस्तक्षेपपछि लफडा उत्पन्न भएको छ ।
भापति देउवा र महामन्त्री थापाले संघको निर्वाचनमा ठाडो हस्तक्षेप गरेको अर्को पक्षको आरोप छ । पार्टीका तर्फबाट निर्देशन समितिको संयोजक बनाइएका केन्द्रीय सदस्य मधु आचार्यमाथि देउवा र थापाको निर्देशनमा एकतर्फी रुपमा निर्वाचन शुरु गर्दै अर्को पक्षलाई भोटहाल्न नदिएको आरोप लगाइएको छ । समितिका अन्य सदस्यहरू पार्टीका केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमयको सहमतिबिनै एकल रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै एउटा पक्षले परिणाम अस्वीकार गरेपछि वैधताको प्रश्न समेत जन्मिएको छ ।
निर्देशन समितिकी सदस्य बजिमय हाल अमेरिकामा छन् । अर्का सदस्य श्रेष्ठले पनि नेतृत्व चयन प्रक्रिया बहिष्कार गरेर हिँडेका थिए । गत शुक्रबार र शनिबार भएको महाधिवेशनमा दोस्रो दिन नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका तय भएको थियो । अध्यक्षका लागि माधव चम्लागाईं, विकास थापा र कल्पना खड्का प्रतिस्पर्धी थिए । उनीहरुले मतदानका बेलाप्रहरी लगाएर प्रतिनिधिसँग मत माग्न र मतदानस्थल वरपर जान समेत नदिएको दाबी गरेका छन् ।
देउवा र गगनको हस्तक्षेपपछि अध्यक्षका उम्मेदवार खड्का र थापाले निर्वाचन नै बहिस्कार गरेका हिंडेका थिए । चुनाव गराउने जिम्मेवारी पाएको निर्देशन समितिका संयोजक आचार्यमाथि समितका सदस्यले प्रक्रिया छाडेर हिंडेपछि मतदाता नामावलीको सूचीमा एकलौटी गरेको आरोप समेत लागेको छ । मत हाल्न चाहने प्रतिनिधिको हस्ताक्षर पनि नगराइनुले धाँधली प्रश्ट देखिएको जनाइएको छ । समाचार स्रोतले जनाए अनुसार मुलुकभरबाट काठमाडौं आएका एक हजार एक सय ८८ मतदातामध्ये अन्तिम भोटर लिष्टमा आठ सय ९४ जना प्रतिनिधि र एक सय ७१ केन्द्रीय समितिका पदाधिकारीको नाम भित्तामा टाँसिएको थियो ।
पार्टीकै भ्रातृ संगठनको चुनावमा मनलाग्दी भएको विषयमा अध्यक्षका दाबेदार खड्का र थापाले शनिबार काँग्रेस नेता डा.शेखर कोइरालालाई भेटेर गुनासो पोखेका छन् । एकलौटी र व्यापक धाँधली भएकाले मतगणना स्थगित गरेर विधिपूर्वक चुनाव गर्नुपर्ने माग उनीहरुको छ । निर्वाचन गैह्रकानुनी तरिकाले गराइएको भन्ने आरोपमा कोइराला सहमत रहेको बताइन्छ । कोइरालाले चुनाव स्थगित गर्न लगाउने आश्वासन दिएपछि थापा र खड्का फर्किएका थिए ।
थापा र खड्का पक्षलाई मतदानमा व्यवधान खडा गरेपछि चम्लागाईंलाई जिताउन चार सय ७० मात्र मत खसाइएको आरोप छ । अन्तिममा एक पक्षको चुनाव वहिष्कारबीच बुथमा एकपक्षीय प्रतिनिधि राखेर मतगणना गर्दै मतपरिणाम घोषणा गरिएपछि विवाद चुलिएको हो । वादविवाद र वहिष्कारबीच निर्वाचन समितिले अध्यक्षमा चम्लागाईं निर्वाचित भएको घोषणा गरेको थियो ।
खसेको कुल चार सय ७० मतमा चम्लागाईंले तीन सय ५१ मत प्राप्त गरेका थिए । अर्का अध्यक्ष पदका उम्मेदवार थापाले ८८ र खड्काले १३ मत मात्र प्राप्त गरेकी छन् । अध्यक्षमा निर्वाचित भनिएका चम्लागाईं महामन्त्री गगनथापा निकट हुन् । उनलाई सभापति देउवाकोसमेत समर्थन थियो ।
विवादबीच अस्ति संघको समानान्तर समिति घोषणा गरिएको छ । समानान्तर समिति घोषणा गर्ने पक्षले महामन्त्री गगन पक्षधर निर्देशक समितिका संयोजक आचार्य र केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको संलग्नतामा एकपक्षीय निर्वाचन परिणाम घोषणा गरिएको दाबी गरेका छन् । चम्लागाई अध्यक्ष घोषित समितिअवैध रहेको दाबी गर्दै कांग्रेसका शेखर कोइराला पक्षीय केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल, गुरुराज घिमिरेलगायतको उपस्थितिमा अध्यक्षका उम्मेदवार थापा र खड्काले समानान्तर समिति घोषणा गरेका हुन् । थापाको नेतृत्वमा ३५ सदस्यीय समानान्तर समिति घोषणा गरिएको छ ।
निर्वाचनमा भएको धाँधलीलाई लिएर सभापति देउवालाई जानकारी गराउँदासमेत सुनुवाई नभएको समानान्तर समिति पक्षधरको भनाइ छ । अपांग महासंघको चुनावपछि हालसम्म एउटै कित्तामा रहेका शेखर र गगन समूहमा औपचारिक विभाजनको रेखा कोरिएको छ ।
टिप्पणीहरू