प्रतिपक्षको मागमा प्रधानमन्त्रीको रुखो जवाफ

कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणबाट निकालेको सम्बन्धमा सरकारको धारणा मागेका प्रतिपक्षलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रुखो जवाफ फर्काउनुभएको छ ।
प्रतिपक्षीले चाहेको व्यक्तिलाई नियुक्ति दिँदै हिँड्ने सरकारको काम नभएको जनाउँदै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो, एउटा हटायो, अर्को नियुक्ति गर्यो, सक्कियो, त्यही हो जवाफ, प्रतिपक्षीले जो भन्यो, त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’
यसअघि घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरोध गरेका थिए । अन्यथा सदन चल्न नदिने उनीहरुको प्रष्ट अडान छ ।
प्रधानमन्त्री ओलीले भने यसलाई प्रतिपक्षी दलका नेताहरु उत्ताउलो बन्दै गएको भनी टिप्पणी गर्नुभयो । संसद बैठकमा नगई पार्टीको भात्री संगठन राष्ट्रिय युवा संघको कार्यक्रमसम्बोधन गर्न पुग्नुभएका उहाँले कुलमानको विषयमा कुनै जवाफ दिन आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।
प्रतिपक्षी दलहरुले आजको संसद अवरोध गरेकोे सन्दर्भ जोड्दै उहाँले जथाभावी नबोल्न सुझाव पनि दिनुभयो । ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । हामी न मात्तिछौँ, न आत्तिन्छौँ, धैर्यपूवर्क अगाडि बढ्छौँ’, ओलीले थप्नुभयो ।
कुलमानको विषयमा जवाफ दिनुपर्ने प्रतिपक्षीहरुको मागलाई सम्बोधन गर्न सभामुख देवराज घिमिरेले समेत ओलीसँग संवाद गर्नुभएको थियो । तर ओलीले ‘तपाई अघि बढ्नुस्, म आउदिनँ’ भन्ने जवाफ दिएपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गर्नुभएको छ ।
टिप्पणीहरू