राजस्व छल्ने दुई व्यापारीविरुद्ध मुद्दा

राजस्व छल्ने दुई व्यापारीविरुद्ध मुद्दा

राजस्व चुहावटका आरोपित दुई व्यापारीविरुद्ध मुद्दा चलेको छ । राजस्व अनुसन्धान विभागले उक्त अभियोगमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ का चन्दन गुप्ता र पर्साको वीरगञ्ज महानगरपालिका–१६ बस्ने संजयकुमार कुर्मीउपर मुद्दा दर्ता गरेको हो । 

अमायरा वस्त्रालय सञ्चालन गर्दै आएका गुप्ताले बिलबिजकबिना गलत विवरण बुझाई कपडा कारोबार गरेको विभागले जनाएको छ । उनले मालवस्तुको आयकरतर्फ एक करोड ६५ लाख ६० हजार ५९३ रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ ५८ लाख ३७ हजार ६८३ रुपैयाँ गरी दुई करोड २३ लाख ९८ हजार २७६ रुपैयाँ राजस्व छलेको विभागको ठहर छ ।  

यस्तै, शिव शान्ति कन्स्ट्रक्सनका सञ्चालक कुर्मीले पनि कारोबार गर्दा महानगरबाट जारी भएको रसिद नम्बरको अर्को रसिद जारी गरी दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको जनाइएको छ । उनले आयकरतर्फ १९ लाख ६० हजार १५१ रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ १० लाख ३९ हजार ६३ रुपैयाँ गरी २९ लाख ९९ हजार २१४ रुपैयाँ कर छलेको विभागको भनाइ छ । 

उच्च अदालत जनकपुरमा दायर आरोपपत्रमा गुप्तासँग बिगोको शतप्रतिशत जरिवाना हुन आउने चार करोड ४७ लाख ९६ हजार ५५३ र कुर्मीबाट ५९ लाख ९८ हजार ४२८ असुलउपर गरी कैद सजाय तोक्न माग गरिएको छ ।
 

टिप्पणीहरू