अपहरित अमेरिकी हेटौंडामा फेला, नुवाकोटे महिला पक्राउ

एक जना अमेरिकी वृद्धालाई अपहरण गरेको आरोपमा ३७ वर्षकी महिला पक्राउ परेकी छन् । पोखराको लेकसाइडस्थित एउटा होटलबाट ७० वर्षकी अमेरिकी वृद्धा अपहरण गर्ने नुवाकोटकी सरिता लामालाई मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अपहरित भारतीय मूलकी अमेरिकी नागरिकलाई हेटौँडाको नेवारपानीबाट मुुक्त गराइएको प्रहरीले जनाएको छ । उनी लेकसाइडस्थित एक होटलबाट सोमबार साँझ अपहरणमा परेकी थिइन् ।
अपहरित महिला मुक्तिनाथ मन्दिर दर्शनका लागि नेपाल आएकी थिइन् । अपहरणपछि तीन लाख युरो फिरौती मागिएको थियो । काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको थप जानकारीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विशेष अपरेसन गरेको बताइएको छ ।
अपहरणमा संलग्न भएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका ४ की सरिता लामा पक्राउ परेकी छन् । उनीमाथि अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाईंदै छ ।
टिप्पणीहरू