‘हाई अलर्ट’ मा उपत्यका, बाक्लाे सुरक्षाकर्मी तैनाथकाे तयारी

‘हाई अलर्ट’ मा उपत्यका, बाक्लाे सुरक्षाकर्मी तैनाथकाे तयारी

राजधानी काठमाडौंमा भोलि हुने भनिएको परस्पर विपरित विचारधाराका राजनीतिक दल र समूहको आन्दोलनलाई ध्यानमा राखेर सुरक्षाकर्मीहरुलाई उच्च सतर्कतमा राखिएको छ । राजावादी र गणतन्त्रवादीहरुले एकैदिन सडक प्रदर्शनमा उत्रिने तयारी गरेकाले राजनीतिक वातावरण तनावग्रस्त बन्नसक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको छ ।

राजा, राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाको अभियानमा लागेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र वामपन्थी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका समाजवादी घटकहरुले भोलि राजधानीमा शक्ति प्रदर्शनको घोषणा गरेका छन् । 

प्रदर्शनमा हुनसक्ने अप्रत्याशित घटनालाई मध्यनजर गर्दै उपत्यकाका सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सर्तकमा रहन निर्देशन दिइएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको बताए । 

उनका अनुसार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानले तीनकुने तथा समाजवादी मोर्चाले भद्रकालीमा प्रदर्शनका निम्ति अनुमति लिएको छ । 

एकैदिन दुई पक्षको आन्दोलन हुने भएकाले सुरक्षामा चूनौती देखिएपनि सबै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरेर आवश्यकताअनुसार खटाउने उनले बताए । ‘हामी पूर्ण तयारीमा छौं । सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ । प्रदर्शनमा झडप, मुठभेड वा कुनै अप्रिय घटना नहोस् भन्ने हाम्रो चाहना हो । सोहीअनुरुप पर्याप्त मात्रामा सुरक्षाकर्मी खटाउँछौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने । 

सुरक्षा व्यवस्थामा कुनै कमीकमजोरी नहुने बताउँदै उनले आम सर्वसाधारणलाई ढुक्क भएर आफ्नो दैनिक कामकाजमा सहभागी हुनसमेत आग्रह गरिएको छ ।

टिप्पणीहरू