देशैभर यतिधेरै डिभोर्स

न्यायशास्त्रमा एउटा कथन छ, ‘ढिलो न्याय दिनु न्याय नदिनुसरह हो ।’ तर, अदालतमा जुन गतिमा मुद्दा दर्ता भइरहेको छ, त्यसले छिटोछरितो छुटकारा पाउने छाँटकाँट देखिँदैन । केही वर्षयता अदालतमा मुद्दा पर्ने क्रम ह्वात्तै बढेको छ । हालै राष्ट्रपतिलाई बुझाइएको सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदनले १० वटा कसूरमा सबैभन्दा धेरै मुद्दा पर्ने देखाएको छ ।
ती कसुरअन्तर्गत दुई लाख चार हजार २१७ मुद्दा दर्ता भएको छ । जसमध्ये एक लाख २८ हजार ४६८ फस्र्याेट भएको छ भने ९४ हजार ३६१ वटा चलिरहेको छ । प्रतिवेदनअनुसार सम्बन्धविच्छेदको मुद्दा सबैभन्दा बढीे छ । एक आर्थिक वर्षमा सम्बन्धविच्छेदको ४० हजार ३२० मुद्दा दर्ता हुनु सामान्य कुरा होइन । पतिपत्नी बीचको सम्बन्ध बलियो हुनुको साटो खोक्रो बन्दै गएको मुद्दाको यही संख्याबाट प्रष्ट हुन्छ । दर्ता भएका मुद्दामध्ये ३१ हजार ७५२ थान फस्र्याेट भएको छ । आठ हजार ५६८ भने विचाराधीन छ । दोस्रो नम्बरमा अंशबण्डा छ । देशभर ४० हजार १८६ मुद्दा दर्ता हुँदा २२ हजार ३६३ किनारा लागेको छ । १७ हजार ८२३ थान अझै बाँकी छ । त्यसपछि छ– लेनदेन । यसमा ३४ हजार ७३० मुद्दा परेको प्रतिवेदनमा उल्लेख छ ।
जसमध्ये २१ हजार २०१ थान टुंगोमा पुगेको छ भने १३ हजार ५२९ फस्र्याेट हुन बाँकी छ । जग्गासम्बन्धी मुद्दा चौंथो नम्बरमा छ । १८ हजार ६१२ वटा मुद्दा दर्ता हुँदा अदालतले आठ हजार ५५७ वटा फस्र्याेट गरिसकेको छ । १० हजार ५५ थान चालु अवस्थामा छ । प्राप्त विवरणअनुसार चेक अनादरको मुद्दा पाँचौं नम्बरमा छ ।
२७ हजार ९९१ मुद्दा दायर भएकोमा १४ हजार दुई थान फस्र्याेट गरिएको छ । १३ हजार ९८९ मुद्दा बाँकी रहेको देखिन्छ । लिखत बदरको मुद्दा संख्या २० हजार १३२ रहेको छ । तीमध्ये ९ हजार ५२६ थान मुद्दा टुंगिएको छ भने १० हजार ६०६ बाँकी छ । त्यसैगरी, १९ हजार ६६९ मुद्दा जालसाजीका छन् । ९ हजार ३१३ फस्र्याेट हुँदा १० हजार ३५६ थान मुद्दा विचाराधीन छ । सूचीको आठौं नम्बरमा छ– जबरजस्ती करणी । ९ हजार ९५६ मुद्दा दर्ता भएकोमा पाँच हजार ४१० किनारा लागेको छ । त्यस्तै, चार हजार ५४६ बाँकी छ । कर्तव्य ज्यानतर्फ ६ हजार २२ मुद्दा परेको देखिन्छ । तीमध्ये तीन हजार ६ मुद्दा फस्र्याेट र तीन हजार १६ चालु छ । सवारी ज्यान वा अंगभंगका पाँच हजार २११ मुद्दा दायर भएको प्रतिवेदनले देखाउँछ । तीन हजार ३३८ मुद्दा फस्र्याेट भइसकेको छ भने एक हजार ८७३ मुद्दा अदालतमा चलिरहेको छ ।
टिप्पणीहरू