गणतन्त्र भन्ने,राजतन्त्रको अभ्यास गर्ने ?

नेकपा एकीकृत समाजवादीले गणतन्त्रका कमीकमजोरी सुधार र जनजीविकाका मुद्दा उठानबारे सुझाव संकलन थालेको छ । गणतान्त्रिक व्यवस्थामा गणतन्त्र नै खोज्नुपर्ने अवस्थामा पुगेको ठहरसहित उक्त दलले पत्रकारहरुसँग ललितपुरको पुल्चोकमा अहिले संवाद गरिरहेको छ ।
महासचिव घनश्याम भुसाललाई सञ्चारकर्मीहरुले विभिन्न जिज्ञासासहित सुझाव दिएका छन् । कार्यक्रम प्रारम्भ गर्दै भुसालले गणतन्त्रमा गणतन्त्रकै एजेन्डा ओझेलमा पर्न थालेकाले सुझाव संकलन थालिएको जानकारी गराएका थिए । उनले सुशासन र रोजगारीका अवसरहरुको खोजीमा पार्टीले सबै समूह र क्षेत्रसँग राय सुझाव लिन थालेको बताए ।
उनले भने,‘परिस्थितिले गणतन्त्रलाई ऐँठनतिर उन्मुख बनाएको छ । संविधानमा उल्लेखित स्वतन्त्रताको छुट र त्यसको उपभोगमा अहिले देखिएको स्वच्छन्दतावीच तालमेल मिलेको छैन । गणतन्त्रको समीक्षा गर्ने क्रममा राजनीतिमा भ्रष्टाचार व्याप्त भएको पाइन्छ । कुशासनले जनअसन्तोष बढाएको छ ।’
भुसालका अनुसार आजसम्म सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न आवश्यक छ । १० वर्षमा बेरोजगारी उन्मूलन गर्न, कमीकमजोरीको समीक्षा गर्न पनि गणतन्त्रवादीहरुको सम्मेलन आवश्यक रहेको उनको भनाइ छ ।
राजनीतिमा एउटै मान्छे सँधै योग्य भइरहनुपर्ने अवस्थाबाट मुलुकलाई कसरी निकास दिने ? भन्ने सम्बन्धमा अनलाइन खबरका सम्पादक शिव गाउँलेले अमेरिकाको उदाहरण दिँदै सोधेका छन्,‘अमेरिकामा जम्मै जना अयोग्य भएर नेतृत्व बदलिरहेको त होइन होला । ३०–४० वर्षसम्म उही नेताले घुमिफिरी राज गरिरहन्छ भने त्यो अर्को किसिमको राजतन्त्र हो कि होइन ?’उनले यसको निकास के भन्दै सोधेका छन्, ‘गणतन्त्र भन्ने,राजतन्त्रको अभ्यास गर्ने ?’
सेतोपटीका सम्पादक अमित ढकालले भुसालसँग सोधेका छन्, ‘कति कार्यकाल प्रधानमन्त्री खाने ? १९५१ मा अमेरिकाले सम्विधान संशोधन गरेर दुई कार्यकाल बनाएको होइन ? उमेर हैन पध्दति हेर्ने हो, दलहरुले संसदीय दलको निर्वाचन गर्नु नपर्ने ?’ उनले सम्झाएका छन्, ‘विधि नमान्दा नेकपा फुटेको तथ्य कसैले पनि नबिर्सौँ ?’
उनले राजनीतिक पार्टीहरुलाई बदनामीबाट जोगाउने इच्छा भएमा तिनको व्यवस्थापन राज्यले लोकप्रिय मतका आधारमा गर्न सक्ने सुझाव दिएका छन् । नेता तथा पार्टी सभापतिको मात्रै सम्पत्ति छानबिन गर्ने कि प्रशासक, व्यापारी,सेना,प्रहरीका हाकिमको पनि ? भन्दै उनी सोध्छन्,‘नकमाएर पनि थुपारेका सबैको छानबिन गर्न थालौं न ०८२ सालदेखि । आम्दानी कति थियो र छ अनि उसले राज्यलाई कति कर तिर्यो भनेर हेरौं,चुरो कुरो निस्किन्छ ।’
वरिष्ठ पत्रकार तीर्थ कोइरालाले भुसालसँग सबैभन्दा पहिले दल,मुलुक,व्यक्ति कुनचाहिलाई सपार्ने ? भनेर जिज्ञासा राखेका छन् । उनले नेपालका लागि भारतीय पूर्वराजदूत मन्जिवसिंह पुरीले लेखेको एउटा सन्दर्भ उल्लेख गरे,‘म भारतीय विदेश मन्त्रालयको सेवामा छिर्दा नेपालमा जो प्रधानमन्त्री थिए राजदूत भएर नेपाल पुग्दा पनि उही प्रधानमन्त्री भएको देश हो त्यो ।’
कोइरालाले हाम्रा कुनै पनि राजनीतिक दलमा प्रजातान्त्रिक पध्दति नरहेको दावी गरेका छन् । बैठकमा कुनै स्थायी कमिटी सदस्यले केही कुरा कोट्याउँदा अध्यक्षले ‘यसो घुरेर हेरेपछि अरु सबै शीताङ्ग’ हुने गरेको सन्दर्भलाई उनले पार्टीभित्रको आन्तरिक प्रजातन्त्रसँग जोडेका हुन् ।
मार्क्स,एंगेल्स र माओका कोटेशन कण्ठ पारेर मात्रै नबस्न,यथार्थ र वस्तुवादी हुन वामपन्थी दलका नेताहरुलाई उनले सुझावसमेत दिएका छन् । कोइराला भन्छन्,‘पहिला कम्युनिस्ट कम्युनिस्टको मात्रै सम्मेलन गरी हेर्नु । मुलुकभित्र अनेकथरी वादीको जगजगी देखिएकोले पहिला कम्युनिस्टकै सम्मेलनबाट मन माझ्ने अभियान थाल्नु राम्रो होला ।’ सबैथोक पलाउने मुलुकमा आशा नपलाएकोतर्फ ध्यान दिन उनले राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।
‘अमेरिकामा जम्मै जना अयोग्य भएर नेतृत्व बदलिरहेको त होइन होला । ३०–४० वर्षसम्म उही नेताले घुमिफिरी राज गरिरहन्छ भने त्यो अर्को किसिमको राजतन्त्र हो कि होइन ?’
वरिष्ठ पत्रकार किरण नेपालले भएभरका सबै विदेशिए भन्ने भाष्य परिवर्तन गर्न सुझाएका छन् । मुलुक बनेन भन्नेहरुलाई उक्त भाष्यले मानसिक रुपमा सहयोग पुर्याएकोतर्फ ध्यान दिन उनको आग्रह छ, ‘थिती बसाले सुशासन हुन्छ । दण्डहीनता बढ्न नदिऊँ । अहिले नै १० जना भ्रष्टाचारीलाई जेल हालेर देखाउनोस्,सुशासनका नाममा सम्मेलन गरिरहनै पर्दैन ।’
पत्रकार नेपालले नेताहरुको बिहान बेलुकीको भातभान्छाको स्रोत खोज्ने हो भने त्यसबाट सुशासनमा सहयोग पुग्ने दावी गरे । तिनको आम्दानी र कर बुझाइएको हिसाब खोज्न पनि सुझाए।
यसअघिको राजनीतिक परिवर्तन र गरिएका नयाँ व्यवस्थाबारे तीखो प्रहार गर्दै नेपालले सोधे ‘धर्म निरपेक्षता, संघीयता दलहरुले ल्याएको हो ? चुनावमा नगई ०६२/६३ मा प्रतिनिधिसभा पुनर्स्थापना गरिएको होइन ? संघीयताको बलमा एक मधेस,एक प्रदेश खारेज भएको होइन ?’
गत शुक्रबार राजधानीको तीन कुनेमा दुई जना मारिने दु:खद घटनापछि राजतन्त्रको पक्षमा बन्दै गएको परिस्थिति मोडिएको उनको ठहर छ । ‘प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले ज्ञानेन्द्र शाहलाई भाइमारा भन्ने,कसैले मूर्तिचोर भन्ने तर आरोप पुष्टि गर्न नपर्ने ? कार्वाही पनि गर्न नपर्ने यो कस्तो गैह्रजिम्मेवार प्रवृत्ति हो ?’ उनले सोधे ।
मिडिया र मिडियाकर्मीमा प्रश्न गर्ने क्षमता हराउँदै र बोधो हुँदै गएको उनको टिप्पणी छ । नेपालले सोधेका छन्, ‘तीनकुने घटनाको सही रिपोर्टिङमा किन ढिलाइ भयो ?’
भुसाललाई प्रश्न सोध्ने क्रममा अनलाइन खबरका बसन्त बस्नेतले यथार्थमिश्रित व्यङ्ग्य गरेका छन् -राजाद्वारा काण्डैकाण्ड मच्चाइँदा पनि देशमा बस्न दिइने सहिष्णुतासहितको देश हो यो । राजनीतिक दलहरुको गलत प्रवृत्तिमाथि प्रहार गर्दै भने, ‘गठबन्धन गर्ने,आलोपालोको सम्झौता गर्ने, पालो नआउँदा देशै डुबे जसरी चित्त दुखाउने । यही हो गणतन्त्रको ऐँठन ।’
नागरिकका सम्पादक गुणराज लुइँटेलले स्रोत साधनले भरिपूर्ण भएपनि मुलुक सञ्चालकहरु व्यवस्थापनमा चुकेको बताए । जुन पार्टी र जुन नेता आएपछि हालत झन् खराब हुँदै गएकाले समाज शून्य विश्वासको अवस्थामा पुगेको लुइँटेलले उल्लेख गरेक । सूचना प्रविधिको सदुपयोगभन्दा दुरुपयोगमा समाज अघि बढेको सन्दर्भ जोड्दै भने,‘पाँच वटा नराम्रो कुरा गर्यो । ह्वार्र लाइक्स बढायो,जमाना लोकरिझ्याईको छ ।"
टिप्पणीहरू