दलित जनप्रतिनिधिमाथि दुर्व्यवहार, उजुरी दर्ताको तयारी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका एक जनप्रतिनिधिमाथि दुर्व्यवहार भएको छ । दलित भन्दै एक महिलाले जनप्रतिनिधिलाई तथानाम गाली गरेकी छन् । घटना हिजो बिहानको हो,नेपाली काँग्रेसबाट वडा नम्बर १३ को दलित महिला सदस्य विमला विश्वकर्मा पार्टी कार्यालय पुगेकी थिइन् । घरधनी मुना नरलले ‘पानी नचल्ने जात मेरो घरभित्र किन छिरिस्’ भन्दै उनीमाथि दुर्व्यवहार गरिन् ।
उनलाई धकेल्दै घरबाट बाहिर निकालियो । वडाध्यक्ष सुकवीर तामाङ्ग पनि घटनास्थलमै थिए । उनले ‘अहिले जातभात हुँदैन, महिला पुरुष मात्र हुन्छ’ भनेर सम्झाउन खोज्दा घरधनी झनै उग्र बनिन् । त्यसपछि प्रहरीलाई नै बोलाउनुपरेको थियो । जनप्रतिनिधि र स्थानीयले मुनालाई माफी मागेर विवाद त्यहीँ सुल्झाउन सुझाव दिएपनि उनले मानिनन् ।
विमला भन्छिन्,‘म हिजो काम परेर वडा कार्यालय पुगेकी थिएँ । भित्र छिरेर बसेकी मात्र थिए, घरधनी मुना नरलले मलाई तथानाम गाली गर्नुभयो । त कमिनी भएर मेरो देउता पुज्ने घरमा छिर्ने, त पानी नचल्ने जात भन्दै मलाई धकेलेर घरबाट बाहिर निकाल्नुभयो । उहाँले ममाथि थुक्नु पनि भयो । वडाध्यक्षज्यू त्यहीँ हुनुहुन्थ्यो । सबैले उहाँलाई माफी माग्नु भनेपनि मान्नुभएन् । म कानुनी उपचारमा जाने तयारीमा छु ।’
उनी उजुरी दर्ता गर्नका लागि आज टोलीसहित धुलिखेल पुगेकी छिन् । यता, वडाध्यक्ष तामाङ्गले विमलामाथि दुर्व्यवहार भएको बताए । जनआस्थासँग उनले भने,‘अहिलेको जमानामा पनि जातभात भन्नु लज्जास्पद छ । हामीले पटकपटक उहाँलाई त्यस्तो शब्दको प्रयोग नगर्न आग्रह गर्यौं । तर, उहाँ झनै जंगिनुभयो । प्रहरी नै बोलाउनुपर्यो । प्रहरीको अगाडि पनि उहाँले कमिनी नै भन्नुभयो । विमलाजी आज उजुरी दर्ता गर्न धुलिखेल लाग्नुभएको छ ।’
टिप्पणीहरू