वकिलहरु नेता छान्न व्यस्त

आगामी तीन वर्षका लागि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन केन्द्रीय नेतृत्वका लागि देशभरका वकिलहरु मदतानमा सहभागी भएका छन् । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने मतदानमा बागमती प्रदेशमा मात्रै आठ हजार दुईसय वकिल सहभागी हुँदै छन् ।
सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका छन् । उनको नेतृत्वमा एमाले वरिष्ठ अधिवक्ता केदार कोइराला महासचिवमा भिड्दैछन् भने नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धनले पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठलाई अध्यक्ष पदमा उतारेको छ । रास्वपाले अधिवक्ता यज्ञमणि न्यौपानेलाई महासचिवमा उठाएको छ ।
अध्यक्षमा अरु तीन जना युवा राजु कैती, उज्जवल घिमिरे र आशिष पौडेलसमेत उठेका छन् । अधिवक्ता पौडेल बलात्कारको मुद्दामा जेलबाट भर्खरै रिहा भएका हुन् । बलात्कारको मुद्दामा जेल गएका व्यक्तिले बार अध्यक्ष दाबी गरेको पहिलो पटक भएको बताइन्छ ।
माओवादी उम्मेदवार श्रेष्ठले सत्ता पक्षका मिश्रलाई सत्ताको गोटी बनेको आरोप लगाएका छन् । मिश्र पनि श्रेष्ठलाई सरकारी नून खाइसकेको व्यक्तिले बारको नेतृत्व गर्न नसक्ने भन्दै प्रत्यारोपमा उत्रिएका हुन् ।
सत्तारुढ दलको राईंदाईंलाई रोक्न माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धनले चुनौति त दिएको छ, तर सत्ता पक्षकालाई नै कानुन व्यवसायीले रोजे भने के होला भन्ने आशंका उत्तिकै छ । सत्ता र प्रतिपक्षीको भिडन्तले बार निर्वाचन रोचक बनेको कानुन व्यवसायीहरुको विश्लेषण छ ।
कांग्रेस र एमाले निकट चार हजार हजारको हाराहारीमा कानुन व्यवसायी रहेको बताइन्छ । माओवादीको १५ सय र राष्ट्रिय स्वतन्त्र पार्टीको जम्मा पाँच सयको हाराहारीमा कानुन व्यवसायी रहेकाले ठूलो अन्तरको निर्वाचनमा प्रतिपक्षीले कत्तिको धक्का दिन्छ भन्ने उत्सुकता पनि उत्तिकै छ । कम्ती एक हजारदेखि १५ सयको संख्यामा रहेका तटस्थ मतदाता जता ढल्किन्छन्, उतै पल्लाभारी हुने स्वाभाविक छ ।
‘बारको इतिहास हेर्दा जम्मा आठ हजारको हाराहारीमा मतदान हुने गरेको छ । सत्तारुढ दलको संख्यात्मक भार र प्रतिपक्षको हेभिवेट अध्यक्ष उम्मेदवारका कारण निर्वाचन रोचक बनेको छ’ कानुन व्यवसायी निर्वाचनका विश्लेषकहरु भन्छन्, ‘सत्तारुढ गठबन्धनलाई समेत विपक्षीका उम्मेदवारहरुले चुनौति दिनसक्नु नै अहिलेको रोचक पक्ष बनेको छ ।’
टिप्पणीहरू