रंगशालामा बजेट धेरै, प्रशासकीय भवनमा काम

भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा हालसम्म २० प्रतिशत भौतिक प्रगति देखिएको छ । बाँकी निर्माण सम्पन्न गर्ने उद्देश्यले महानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारको संयुक्त आर्थिक लगानीमध्ये हालसम्म २४ करोड १९ लाख रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ ।
महानगरको सार्वजनिक सुनुवाइ कार्यक्रममा दिइएको जानकारी अनुसार महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा बन्दै गरेको महानगरपालिकाको प्रशासकीय भवनमा हालसम्म ३३ करोड खर्च भई ६१ प्रतिशत वित्तीय प्रगति र ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सुविधा सम्पन्न प्रशासकीय भवनको सगुन शर्मा सगरमाथा जे.भी.सँग २०७९ साउन १८ मा ५३ करोड ३२ लाख ४१ हजार एकसय ३८ रुपैयाँमा सम्झौता भई निर्माण कार्य भइरहेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१÷०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रगति प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘सघन शहरी विकास आयोजना र यस महानगरपालिकाबाट छुट्टाछुट्टै प्याकेजमा खरिद सम्झौता भई निर्माण अघि बढिरहेको पुड्डीखोला शौन्दर्यीकरण कार्यको लागि महानगरपालिका अन्तर्गत ५५ प्रतिशत भौतिक प्रगति तथा ३ करोड ८० लाख खर्च भई ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।’ संघ तथा प्रदेश सरकारको सहयोग र सहकार्यमा सघन शहरी आयोजनाबाट कार्यान्वयनमा रही महानगरपालिकाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको सिटीहल निर्माण सम्पन्न हुने चरणमा छ ।
केरुङ्गा नाला सौन्दर्यीकरणलाई पनि महानगरपालिकाको महत्वपूर्ण आयोजनामा समेट्दै प्रगति प्रतिवेदनमा भनिएको छ, ‘महानगरबाट गत आ.व.मा भएको बोलपत्र सम्झौता बमोजिम ५३० मीटर फुटपाथ र रेलिड्डसहितको ड्रेन (नाली)को कार्य सम्पन्न भएको छ ।’ केरुङ्गा नाला सौन्दर्यीकरणको लागि संघीय सरकारको लगानीमा यस आ.व.मा पनि निरन्तर कार्य अगाडि बढिरहेको जनाइएको छ ।
संघीय सरकारको विशेष अनुदानमा जंगली जनावरका कारण हुने मानवीय तथा बालीनालीको क्षति न्यूनीकरणका लागि वडा नम्बर १६, २६, २७ र २८ मा फाउण्डेसनसहितको मेशजाली लगाउने योजना बनाइएको छ । यो वर्ष विनियोजित रकम छ करोडमध्ये एक करोड ७७ लाख नौ हजार खर्च भएको बताइन्छ । यसमा हालसम्म ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
पुलचोक–गोन्द्राङ ६ लेन सडक र बाइपास सडक निर्माण सम्पन्न हुने चरणमा रहेको तथा हाकिम चोक, आँपटारी, बाइपास सडक, प्रचण्डमार्ग लगायत फराकिला सडकहरुमा हरियाली प्रवद्र्धन र सौन्दर्यीकरण कार्य भइरहेको जनाइएको छ । पवित्र तीर्थस्थल देवघाटधाममा शवको व्यवस्थापनको लागि विद्युतीय शवदाह गृह निर्माणको कार्य पनि अन्तिम चरणमा रहेको छ । निर्माण सम्पन्न पश्चात् सञ्चालनका लागि जनशक्ति प्रशिक्षित गर्ने कार्यसमेत भइरहेको बताइएको छ ।
महानगरीय चक्रपथमा बाँकी रहेको खण्डको निर्माण कार्य सघन शहरी तथा भवन निर्माण आयोजना, प्रदेश सरकार र सडक डिभिजन कार्यालयको सहकार्यमा थालिएको छ । संघीय सरकारको विशेष अनुदानमा ओपन जु निर्माणका लागि वडा नम्बर १२ को राइनो पार्कमा निर्माण कार्य गर्ने गरी थालनी गरिएको, वडा नम्बर ६ मा तीन करोड १६ लाखको लागतमा कोल्ड स्टोरेज निर्माण कार्य भइरहेको पनि महानगरपालिकाले बतायो ।
फोहोरमैला व्यवस्थापन गर्न भरतपुरको आँपटारीमा ल्यान्डफिल साइटको लागि झाडी सफाइ सम्पन्न भई रुखहरुमा टाँचा मारी कटानको प्रक्रियामा रहेको पनि बताइएको छ । उज्यालो भरतपुर कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रहरुमा दोस्रो प्याकेज अन्तर्गत स्मार्ट सडक बत्ती, हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान र विस्तारको कार्य भइरहेको सो अवसरमा जानकारी दिइयो ।
पहिलो चरणको स्मार्ट लाइट जडान भइसकेर अहिले दोस्रो चरणमा पनि धेरै बत्तीहरु झण्डै डेढ सय किलोमीटर सडक बत्ति, ५० वटा मिनी मास्टहरु र १० भन्दाबढी हाईमास्ट सडक बत्तिहरु अहिले जडानका लागि फाउन्डेसन बनाइएको महानगर प्रमुख रेनु दाहालले बताइन् । ‘सबैभन्दा महत्वपूर्ण काम फाउन्डेसन बनाउने थियो । फाउन्डेसन लगभग सबै बनिसक्यो । भरतपुर महानगरपालिकामा अब स्मार्ट स्ट्रिट लाइटको र मिनी मास्ट र हाइमास्ट चोकचोकमा, बसपार्कलगायतका सार्वजनिक स्थलमा पनि बत्ती राख्ने योजना अनुसार फाउण्डेसनको काम लगभग सकिएको छ । अब त्यसमा पोलहरु फिट गर्नेमात्र हो’, उनले भनिन्, ‘सबै सामान आइसक्या छ । कतिपय ठाउँमा जडान हुँदै भइरहेको छ, कतिपयमा हुँदै छ ।’ सकेसम्म यो वर्षभित्र उज्यालो भरतपुरको दोस्रो चरणको कार्य सम्पन्न गर्ने काम भइरहेको मेयरले बताइन् ।
टिप्पणीहरू