धर्म फेरेर मन्दिरमा मलमुत्र

धर्म फेरेर मन्दिरमा मलमुत्र

५५ वर्षको उमेरमा धर्म परिवर्तन गरेकी एउटी महिलाले ६१ वर्षको उमेरमा मन्दिरमा मलमूत्र छर्केकी छन् । हिन्दू धर्मावलम्बीबाट क्रिश्चियन धर्म अंगालेकी ती महिला मन्दिरमा मलमुत्र छर्केको अवस्थामा फेला परेपछि प्रहरी हिरासतमा पुगेकी छन् । 

काठमाडौं क्षेत्रपाटी नजिकै धोबीचौर घर भएकी र हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौलाले सीतापाइला नजिकैको मन्दिरमा पटक पटक मलमूत्र छर्कन पुगेकी थिइन् । नागार्जुन नगरपालिका–५ स्थित आदेश्वर मन्दिरमा ती महिला बोतलमा पिसाब बोकेर  गई भित्रको मूर्ति र बाहिर पिसाब छर्केर फरार भएकी थिइन् । 

त्यसबारे स्थानीयले गत पुस २६ गते प्रहरीलाई लिखित जानकारी गराएको थियो । त्यसपछि फागुन २१ गते पनि सोही मन्दिर नजिकैको चुण्डेश्वर, सीतापाइलास्थित गणेश मन्दिर, हरिसिद्धी मन्दिरमासमेत मिठुले पिसाब छर्किइन् । प्रहरीले सि.सि.टि.भी फुटेजको आधारमा ती महिलाको खोजी गरेको थियो ।

अस्ति बिहीबार मध्यान्ह उनी फेरि पाँच वटा प्लाष्टिकको बोतलमा पिसाब बोकेर आदेश्वर मन्दिर पुग्दा पक्राउ परेकी हुन् । ‘धर्मसम्बन्धी कसूर’ मा आवश्यक छानबिन र अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद दिएको छ । प्रहरीले ती महिलाले यसअघि मंसिर १४ गते, फागुन १२ र चैत २१ गते पिसाब छर्कंदै गरेको सिसिटिभी फुटेज प्राप्त गरेको छ ।
 

टिप्पणीहरू