चुनाव स्ववियुको, तनाव दुई मन्त्रीको

चुनाव स्ववियुको, तनाव दुई मन्त्रीको

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा चैत २७ गते स्ववियु निर्वाचन हुँदै छ । दार्चुलास्थित दुई वटा आंगिक क्याम्पसमा हुन गइरहेको निर्वाचन भने कांग्रेस र एमालेका दुई नेता एवं पूर्वमन्त्रीहरूका निम्ति प्रतिस्पर्धा र प्रतिष्ठाको विषय बनेको छ ।

सदरमुकाम खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस र शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वर बहुमुखी क्याम्पसमा हुने निर्वाचनमा कांग्रेसनिकट नेविसंघले माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीसँग तालमेल गरेको छ । एमालेको अनेरास्ववियु भने एक्लै मैदानमा उत्रिएको छ । यसमा कांग्रेस नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू र एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रतिष्ठा गाँसिएको छ ।

दार्चुलाका सातमध्ये यी दुई क्याम्पसमा विद्यार्थी संख्या बढी छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ५ वटा क्याम्पसमा भने कांगे्रस, एमाले र माओवादीनिकट विद्यार्थी संगठनले भागवण्डामा सर्वसम्मत निर्वाचन सम्पन्न गरिसकेका छन् ।

जिल्लाको नौवटै स्थानीय तहका नेता र जनप्रतिनिधिलाई परिचालन गर्नेबारे एमालेले मसिनो गरी गृहकार्य थालेको एक जिल्ला कमिटी सदस्यको भनाइ छ । ‘कांग्रेस र माओवादीको गठबन्धन भएको अवस्थामा एमाले एक्लैले जित्न सकेमा विशेष र महत्वपूर्ण अर्थ हुने निष्कर्षमा हामी छौं’ एमालेका ती जिल्ला नेताले भने । ‘यो चुनाव हामीले जित्यौं भने २०८४ का लागि पनि एक्लै जित्न सकिने सन्देश जान्छ र नेता–कार्यकर्तालाई हौसला मिल्छ’ एमालेका अर्का जिल्ला कमिटी सदस्यको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू एक हप्तादेखि गृहजिल्लामा छन् । दार्चुलाका नौमध्ये ६ स्थानीय तहमा एमालेको सरकार छ । दार्चुला बहुमुखी क्याम्पसमा ४ सय ८५ मतदाता छन् भने गोकुलेश्वरमा २ सय ५० ।

टिप्पणीहरू