राजावादीलाई पूर्व श्रीमानको कुरीकुरी
अघिल्लो साता सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले राजावादीलाई ‘थ्रेट’ दिँदै लेखेको एउटा फेसबुक स्टाटस न्याय जगतमा अझैसम्म चर्चित छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह फर्काउने भन्दै काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको हिंस्रक प्रदर्शनका सन्दर्भमा खतिवडाले खरो अभिव्यक्ति दिएका हुन् । उनले फेसबुक पेजमा लोकतन्त्रको विकल्प उदार लोकतन्त्र मात्रै हुन सक्ने भएकाले दास मानसिकताबाट मुक्त हुन राजावादीलाई सुझाव पनि दिएका छन् । सर्वोच्चमा न्यायाधीश रहँदा संविधानको व्याख्या, फौजदारी न्यायका मान्य सिद्धान्त, संवैधानिक नैतिकतालगायत विषयमा विधिशास्त्रीय महत्वको नजिर प्रतिपादन गरेका कारण मात्र नभई आचरण पनि शुद्ध राखेका कारण पनि उनका कुरा सुनिन्छन् ।
उनका अनुसार पुरानो, बासी र युगौँ परीक्षण भैसकेको वंशाणुगत शासनमा समर्पित हुने दास मानसिकता बोकेको विचारबाट कुनै परिवर्तन सम्भव छैन । ‘सार्वजनिक रूपमा खपत हुने न सिद्धान्त छ, न समर्पण न अनुशासन छ, न कुनै निष्ठा नै । न राजनीतिक चेतनाको तालिम छ, न आन्दोलन गर्ने सामान्य तौरतरिकाको ज्ञान । न विगत राम्रो थियो, न आगत आशालाग्दो छ,’ पूर्वन्यायाधीश खतिवडा लेख्छन्, ‘कसैलाई सत्ता गएको पीडा छ, कसैमा सत्ताको लोभ छ, कसैमा प्रतिशोधको भावना छ, कसैमा लुटेर खाने मौकाको खोजी छ । व्यक्तिको जयजयकार गाएको भरमा सत्ताको न्यानो अनुभव गर्नेहरूले भजन मण्डलीहरूको बलमा राजनीतिक आन्दोलन गर्ने कुरा आफैंमा अनौठो छ ।’
उनी भन्छन्, ‘अरू कारण जेसुकै भनिए पनि १०४ वर्ष शाह र राणा दुई वटा परिवारले सत्ता साझेदारी गरेको होइन र ? ३० वर्षे मण्डले ताण्डवबाट पैदा भएको कहर पनि देखेको र सुनेको होइन र ? नेपालीको स्मरण शक्ति कमजोर भएर हो कि हामी धेरै क्षमाशील भएर हो ? नेपाली जनताले कति खालका, कति वटा र कहाँ कहाँका राजनीतिक पसलहरू चाहार्ने हो ?’
खतिवडाले सिर्जनात्मक सुधार र परिवर्तनको वैधानिक बाटो छाडेर जंगली उद्दण्डता देखाई गरिने कामको परिणाम दुर्भाग्यपूर्ण हुने खवरदारी पनि ज्ञानेन्द्रवादीलाई गरेका छन् । ‘लोकतन्त्रको विकल्प उदार लोकतन्त्र मात्रै भएको’ उनको निष्कर्ष छ ।’
टिप्पणीहरू