पूर्वराजाको नाममा काटिएला त पुर्जी ?
दुर्गा प्रसाईंलाई कमाण्डर तोकेर तीनकुनेमा हिँसा मच्याएको आरोप लागेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि छानविन गर्न सांसदहरुले माग गरेका छन् ।
फागुन ७ गते वक्तव्य निकालेर ज्ञानेन्द्रले आफूलाई साथ् दिन आह्वान गरेका थिए । त्यसपछि हौसिएर सडकमा ओर्लिएका राजावादीहरुले आन्दोलनको नाममा चैत १५ गते तीनकुनेमा विध्वंस मच्याएका थिए । उक्त घटना फागुन ७ को आह्वानकै सिलसिला भएको बताउँदै सांसदहरुले छानविनको दायरामा ल्याउन माग गरेका हुन् ।
आज बसेको संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा कडा धारणा राख्दै सत्तारुढ नेपाली काँग्रेसका सांसद जीवन परियारले तीनकुने घटनाबारे सोधपुछ गर्न पूर्वराजालाई समितिमा बोलाउन प्रस्ताव गरे । गृहमन्त्री रमेश लेखकसमेत सहभागी बैठकमा उनले हिंसात्मक घटनामा संलग्नता भए/नभएकोबारे सोध्नुपर्नेमा जोड दिएका हुन् ।
गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट फर्किनेक्रममा नागरिकले गरेको स्वागतसमेत आवश्यक नरहेको परियारको टिप्पणी छ । तीनकुने घटनाबारे ज्ञानेन्द्रलाई ‘तपाई एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनुहुन्छ ?’ भन्दै प्रश्न गर्नुपर्ने उनले बताए ।
'आम नागरिकको रुपमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई गत फागुन २५ गते पोखराबाट फर्किने क्रममा जुन स्वागत गरे जनताले त्यो आवश्यक थियो कि थिएन ? र १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न ? भन्नेबारेमा विभिन्न विचारहरु आउन थालेका छन्', परियारले भने, 'सभापतिज्यू यो विषयमा कुरा गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाउँ । यो समितिमा बोलाएर हामीले सोधौं । यो मानव अधिकार उल्लङ्घनको घटना हो कि होइन ? तपाईले गरेको हो कि होइन ? तपाई एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनुहुन्छ ? यसका बारेमा छलफल गर्न आवश्यक छ ।’
यसअघि एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि तयस्तै माग गरेका थिए । तीनकुने घटनामा कहिँ न कहिँ पूर्वराजालाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने उनले बताएका छन् ।
‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ । त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ', बर्तौलाले भने, 'उहाँले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन् ।'
टिप्पणीहरू