भाटभटेनी लुटिएको घटना सम्झेर प्रधानमन्त्री फेरि अचम्मित

भाटभटेनी लुटिएको घटना सम्झेर प्रधानमन्त्री फेरि अचम्मित

प्रधानमन्त्री एंव नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वियर र ह्वीस्की चोर्नेहरुबाट क्रान्तिको आशा गर्नु सबैभन्दा ठूलो मुर्खता हुने बताउनुभएको छ । 

पार्टीको रुपन्देही जिल्ला कमिटीले आज आयोजना गरेको गणतन्त्रको पक्षमा जागरणसभालाई सम्बोधन गर्दै उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो । राजावादीले जति प्रतिगमनको हल्ला चलाए पनि त्यसको कुनै अर्थ नरहेको प्रधानमन्त्रीको भनाई छ ।

चैत १५ गते राजावादी समूहले तीनकुनेमा मच्चाएको वितण्डा स्मरण गर्दै उहाँले ‘त्यो कुनै राजनीतिक कार्यक्रम नभई हिंसाको बबण्डर मात्र भएको’ उल्लेख गर्नुभयाे । ‘मान्छे मारेको छ, तोडफोड गरेको छ, ढुंगा हानेको छ, पसल लुटेको छ’, प्रम ओलीले भन्नुभयो, ‘वियरका वोतल लिएर भाग्नेहरुले क्रान्ति गर्छन् ? ह्वीस्कीका बोटल चोरेर भाग्नेहरुले क्रान्ति गर्छन् ? त्यस्ताले क्रान्ति गर्ने ?’

उक्त घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको उहाँको तर्क छ । ‘अलिअलि मान्छे देख्यो भने हौसिन्छन्, अनि क्रान्ति गरेको रे ! कस्तो क्रान्ति भन्दा मान्छेका घरमा आगो लगाउने क्रान्ति । उपद्रो गर्ने जिम्मा नलिने ? जिम्मा लिनुपर्दैन ?’, उहाँले थप्नुभयो । 

प्रधानमन्त्री ओलीले फरक प्रसंगमा एमाले सिध्याउने विरोधीहरुको सपना कहिल्यै पूरा नहुने पनि बताउनुभएकाे छ । पार्टीमा आफूपछि झन् बलिया नेताहरुको जन्म हुने विश्वास जनाउँदै भन्नुभयो, ‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने पनि होइन, तर त्यसपछि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन् ।’

टिप्पणीहरू