एमाले नेताहरुलाई पहिले सिस्नु, पछि मिठाई

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई सिस्नु लगाउनुभएको छ । आज दिउँसो च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको क्रममा उहाँले सदूरपश्चिममा मनाइते बिसु पर्वको अवसर पारेर अन्य नेताहरुलाई सिस्नुले छुनुभएको बताइन्छ ।
पार्टी उपाध्यक्ष तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले बिसु पर्वको प्रसंग निकालेपछि माहौल रमाइलो बनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । भट्टले नयाँ वर्षमा सिस्नु लगाउँदा पुराना रोगहरु निको हुने किंवदन्ती सुनाउँदै अध्यक्ष ओलीलाई सिस्नु लगाउन आग्रह गरेका थिए ।
माओवादी पृष्ठभूमिका नेता भट्टले गत पुसमा स्थानीय नेताहरुसँग गरेको अनौपचारिक संवादको अडियो बाहिरिएको थियो, जसमा उनले केपी ओलीको हेपाइ सहनुपरेको र जुध्न नसकिने आशयको अभिव्यक्ति दिएका थिए । लगत्तै उनले ‘ओलीको विकल्प अरु हुन सक्दैन’ भन्ने वक्तव्य निकालेर हुनसक्ने सम्भावित राजनीतिक क्षतिबाट जोगिएका हुन् ।
सोही पृष्ठभूमिमा भट्टले आजको बैठकमा नयाँ वर्षको मौका छोपेर सम्बन्ध सुधारको प्रयास गरेको बताइन्छ । उनकै आग्रहमा नेताहरुले सिस्नु हानेर विगतका गल्ती र कमजोरीबारे आत्मालोचना गरेका हुन् । सिस्नु लगाएपछि सबैले एकअर्कालाई मिठाई बाँडेका थिए ।
टिप्पणीहरू