केन्द्रीय पदाधिकारी कारबाहीमा, जिल्लामा दलीय भागबण्डा

- यदुनाथ बन्जारा
विशुद्ध मानवीय संस्था ‘नेपाल रेडक्रस सोसाइटी’ कास्की शाखाको १७ औं अधिवेशन सम्पन्न भएको छ । नेपालको रेडक्रस नेतृत्वमा राजनीतिक दलको भागबण्डा स्थापित गरिएको भन्दै अन्तर्राष्ट्रिय रेडक्रस संस्था ‘आइसिआरसी’ ले केन्द्रीय कार्यालयका पाँच पदाधिकारीलाई कारबाही गरेसँगै कास्की शाखाले चैत ३० गते अधिवेशन सकाएको छ ।
पुरानै समितिले सदस्य प्रमाणित गरिएकाले तोकिएको निर्वाचन वैध हुने कि नहुने ? भनि बहस चलिरहँदा शाखाले १७ वटा विषय औंल्याएर अधिवेशन गर्ने निर्णय गरेको थियो । नेपालमा रहेका रेडक्रस शाखाहरुमध्ये कास्की पाँचमध्ये एक ठूलो हो । यस पटकको अधिवेशन भने हेर्न लायक थियो ।
नेपालका ठूला राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले चुनावमा देखाएको सक्रियता र प्रतिस्पर्धालाई हेर्दा जिल्ला अधिवेशन रेडक्रसको नभई तिनका भ्रातृ संगठनको जस्तो देखिन्थ्यो । खासगरी नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको चुनावमा उल्लेख्य उपस्थिति र चलखेल भएको हो ।
कास्की रेडक्रसमा एमालेको पकड छ । यसपटकको निर्वाचनमा एमाले उपमहासचिव तथा सञ्चारमन्त्री पिएस समूह र खगराज समूह गरी दुई प्यानल बनाएर प्रतिस्पर्धा गरिएको थियो । २६५ प्रतिनिधि रहेको कास्कीमा १२७ मत ल्याएर सभापतिमा उर्मिला खड्का भण्डारी निर्वाचित भइन् । उनी पिएस समूहको भएको बताइन्छ ।
उर्मिला आफ्ना निकटतम प्रतिस्पर्धी खगराज समूहका कृष्ण तिमिल्सिनालाई एक मतले हराएर पहिलो महिला सभापति बनिन् । उनले १२६ मत प्राप्त गरेका छन् । कृष्णले खगराज समूहबाट प्यानलसहित उम्मेदवारी दिएका थिए ।
अल्पमतमा पिएस समूह !
प्यानलसहित चुनावमा होमिएकी उर्मिला अल्पमतमा परेकी छन् । उनले एमाले उप–महासचिव पृथ्वीसुब्बा गुरुङ्ग समूहबाट प्यानलसहित उम्मेदवारी दिएकी थिइन् । उक्त प्यानलबाट खुल्ला उपाध्यक्ष सुरेन्द्र गुरुङ्ग र कोषाध्यक्ष मोहनबाबु खड्का विजयी भएका छन् । त्यसैगरी डिल्लीराम बराल र खगेन्द्र पराजुलीले पनि चुनाव जितेका छन् ।
उर्मिलाले अघिल्लो कार्यसमितिमा महिला उपसभापतिमा निर्वाचित भई काम गरेकी थिइन् । एक मतले पराजित कृष्णले लामो समयदेखि रेडक्रसको सदस्य, उपसभापति लगायतको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनलाई रेडक्रसमा अनुभवी मानिन्छ । क्षेत्रीको जातीय सहानुभूति उर्मिलाले पाएका कारण नतिजा उनको पोल्टामा पुगेको धेरैको अनुमान छ ।
स्थानीय चुनावमा एमाले उम्मेदवार हराऔं अभियानमा लागेको विषय ‘भुसको आगो’ जस्तै भएको थियो । तर, बयानबहादुर क्षेत्री, कृष्ण थापालगायतले विगतको तितो बिर्सेर सहयोग गर्दा उर्मिलाको पासा पल्टिएको भन्नेहरु पनि छन् । पिएसतर्फका नेता माधव बास्तोला, विष्णुबहादुर क्षेत्री फिल्डमै सक्रिय देखिन्थे ।
उर्मिलाले १५ सदस्यीय जिल्ला कार्यसमितिको चुनावमा आफूसहित पाँच जनाबाहेक चुनाव जित्न सकिनन् । यद्यपि, कृष्ण आफू हारेपनि आफ्नो प्यानललाई बहुमत दिलाउन सफल भए । उनीसँग एमाले पोलिट्ब्युरो सदस्य खगराजको आशिर्वाद रहेको बताइन्छ । केही महिना अगाडिसम्म रेडक्रस कास्कीका कार्यालय प्रमुख रहेका मोहनसिंह खड्का कोषाध्यक्षमा १२८ मत ल्याएर विजयी भए ।
उनी जागिरबाट हटेकै दिनदेखि रेडक्रस कास्कीमा अनियमितता भएको आरोप लागेको थियो । कोषाध्यक्षमा निर्वाचित भएपछि उनलाई भ्रष्टाचारको विषयमा छानबिन गर्नुपर्ने चुनौती थपिएको छ । उनका प्रतिस्पर्धी विष्णुप्रसाद भण्डारीले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन चुनौती दिएका छन् । भण्डारीले ११९ मत ल्याएका छन् ।
रेडक्रस कास्कीको चुनाव जित्नेमा सुरेन्द्र गुरुङ्ग र मोहनसिंह खड्काबाहेक सबैजना सभापतिमा पराजित कृष्ण प्यानलका उम्मेदवार हुन् । उर्मिला जित्नु र कृष्ण हार्नुमा पिएस गुट बलियो भएर होइन भन्ने भाष्य पनि बलियो देखिन्छ । उक्त गुट बलियो नै थियो भने उर्मिलाको प्यानलले कृष्णको प्यानललाई ‘क्लिन स्विप’ गर्नुपर्ने उनीहरुको भनाइ छ ।
माओवादीप्रति आस्था राख्ने डिल्लीराम बराल उपमन्त्री र नेकपा एसका खगेन्द्र पराजुली सदस्यमा विजयी भएका छन् । दुवै उर्मिलाको प्यानलका हुन् । कार्यसमिति सदस्यहरुमध्ये खुल्ला सदस्यहरुमा पराजुलीले १०५, नवराज पौडेलले १०३, कमलप्रसाद पौडेलले ९९, सूर्यप्रसाद तिमिल्सिना (पालुवा) ले ९४, सुभाष अधिकारीले ९०, महेश्वर दवाडीले ७३, श्रीकान्त पौडेलले ६६ मत ल्याएका छन् ।
महिला सदस्यहरुमा बबिता सुवेदीले १२०, पार्वती कार्कीले ११० र भगवती गुरुङ्गले १०३ मत प्राप्त गरेका छन् । उनीहरुले जितेका हुन् । सदस्यमा विजयी हुनेहरुमध्ये खगेन्द्रराज मात्र उर्मिला प्यानलको उम्मेदवार हुन् भने बाँकी सबै कृष्णको प्यानलका हुन् ।
दुईटा डुङ्गामा खुट्टा राख्ने काँग्रेस चुर्लुम्मै
प्यानल खडा गरेका उर्मिला र कृष्ण दुवै जना एमालेमा आस्था राख्थे । दुवै प्यानलमा उनीहरुले काँग्रेस समर्थकलाई समेत मिसाएका थिए । काँग्रेसबाट कृष्ण प्यानलमा उप–कोषाध्यक्ष किसान परियार, महिला सदस्य पुष्पा नापित, खुल्ला सदस्यमा वुद्धिप्रसाद बराल र तीर्थराज न्यौपानेले उम्मेदवारी दिएका थिए ।
उनीहरु पराजित भए । दुवै प्यानलमा परेका परियार र नापितको पराजयले कम्युनिष्टहरुले प्यानलमा काँग्रेसलाई राखेको भएपनि मत भने आफ्नो प्यानलको नहुँदासमेत कम्युनिष्टलाई नै दिएको स्पष्ट भएको एक काँग्रेस समर्थकले बताए । काँग्रेस समर्थकले दुवै पक्षको बुइ चढेर जित्ने रणनीति बनाएका थिए । दुई वटैको साझा उम्मेदवार बनेका थिए तर भोट भने पाएनन् ।
अन्ततः दुई वटा डुङ्गामा खुट्टा राखेका काँग्रेस समर्थक उम्मेदवारहरु रेडक्रसरुपी तालमा डुबेका छन् । दुईवटा प्यानललाई समर्थन गर्ने क्रममा काँग्रेससमेत विभाजित बनेको छ । एक प्यानलमा मात्र सीमित भएको भए केही उम्मेदवारले पराजय व्यहोर्नुपर्ने अवस्था थिएन । विभाजित भएपछि काँग्रेसको प्रतिनिधित्व कास्की रेडक्रसमा शून्यमा सीमित भएको छ ।
कास्की काँग्रेसका सभापति किशोर बरालले खगराजसँग मिलेर कृष्णलाई समर्थन गर्ने प्रतिबद्धता जनाएपनि अन्य नेताले उर्मिलालाई समर्थन गरेका थिए । कास्की रेडक्रसको यसपटकको चुनावले रेडक्रसकर्मीलाई मात्र नभएर दुई ठूला दललाई समेत विभाजित बनाएको छ ।
एमालेको बर्चस्व रहेको कास्की रेडक्रसको चुनावमा पनि अन्य चुनावमा जस्तै पीएस–खगराजको गुट आमनेसामने भएर प्रतिस्पर्धा गरे । गुरुङ्ग र अधिकारीसहित उनीहरुका समर्थक नेता र कार्यकर्ताहरु पछिल्लो समय एकअर्काका प्रतिस्पर्धी मात्रै नभएर एकअर्कालाई सकेसम्म पराजित गराउने खेलमा लागेका छन् । जसको उदाहरण रेडक्रसको चुनाव हो ।
आफूहरुलाई एमालेबाट विश्वासघात भयो भन्दै काँग्रेस समर्थक उम्मेदवार र तिनलाई उक्साउने जिल्ला नेताहरुको हालत ‘हिस्स बुढी, खिस्स दाँत’ झैं भएको छ । चुनावको वैधानिकतामाथि प्रश्न गर्ने केन्द्रका पदाधिकारीहरु कारबाही सिफारिसमा परेपछि कार्यालय गएका छैनन् ।
केन्द्र नेतृत्वविहीन छ । नेपाल रेडक्रसले अन्तर्राष्ट्रिय स्तरमा कुख्याती कमाउँदै गएको छ । पवित्र र स्वतन्त्र सेवाको उद्देश्यले स्थापित रेडक्रस दलको भागबण्डामा चल्ने गरेको कुरा पुष्टि भएपछि आइसिआरसीले पाँच जनालाई कारबाहीको तयारी गरेको छ । आइसिआरसीको अनुपालन समितिको कारबाही सिफारिसमा पर्नेहरूमा केन्द्रीय अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपाल, भुपतिलाल श्रेष्ठ, नारायण तिमल्सिना, मनोजकुमार थापा र विनोदकुमार बस्नेत हुन् ।
केन्द्रीय कार्यसमिति छनौट गर्दा पदाधिकारी तथा सदस्यको दलीय भागबण्डाको सहमति पत्र तयार गरी हस्ताक्षर गरेका पाँचै जना प्रथमपटक कारबाहीका लागि सिफारिस भएका हुन् । उनीहरुले काँग्रेसलाई अध्यक्ष, उपाध्यक्ष र खुल्ला महासचिवसहित १५ जना, नेकपा एसलाई महामन्त्री र उप–कोषाध्यक्षसहित छ जना, माओवादीलाई उपाध्यक्ष महिला र कोषाध्यक्षसहित आठ जना पद बाँड्ने सहमति भएको थियो ।
सोही सहमतिको अक्षरशः पालना गर्दै पद समायोजन गरिएको तथ्य अहिले खुलेको छ । त्यसमध्ये नेकपा एसको कोटाबाट कास्कीका पूर्वअध्यक्ष डोलराज पाण्डे रेडक्रसको केन्द्रीय उप–कोषाध्यक्ष बनेका छन्, समायोजनको सहमतिबमोजिम उनको पद मेल खाएको छ । तर, पाण्डे भन्छन्,‘ म कुनै दलबाट गएको होइन ।’
आफू कुनै दलमा नरहेको बताएपनि उनले एमालेको सङ्गठित सदस्य नवीकरण गरिरहेको फेला परेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइसिआरसीको अनुपालन समितिले गरेको छानबिनमा पाँच जना दलमा रहेको पाइएको हो । भागबण्डा लगाउनेलाई भएको कारबाही सिफारिस अब भागबण्डा खानेतिर सोझिने तयारी भएको बुझिएको छ ।
कारबाहीको डण्डा आफूतिर पनि सोझिने भएपछि केन्द्रीय पदाधिकारी र केही सदस्य राजीनामा गरेर उम्किने दाउमा रहेका छन् । पाप धुरीबाट कराउँछ भने जस्तै भएको छ, नेपालको रेडक्रसमा । पार्टीको भर्ती केन्द्र बनाएर नियुक्ति खाने प्रवृत्तिले जरा गाँडिरहेको बेलामा आइसिआरसीको अनुसन्धानले सकारात्मक मार्ग पहिल्याउन खोजेको देखिन्छ ।
रेडक्रसलाई जोगाउन सबै निकायले ध्यान दिनुपर्ने भएको छ । भागबण्डा लगाएर पद बाँड्ने, पार्टीगत गठबन्धनमा गरिने चुनावलाई अमान्य तुल्याउन रेडक्रसकर्मीहरु स्वयम् अग्रसर हुन जरुरी छ ।
टिप्पणीहरू