सिमानामा सामान सट्याकसुटुक
रौतहटसहित मधेश प्रदेशका जिल्लाबाट पछिल्लो समय तस्करी तीब्र भएको छ ।
बिहारसँग जोडिएको ३२ किलोमिटर लामो सीमा क्षेत्रमा पाँच वटा सशस्त्र प्रहरी बेस क्याम्पहरू सक्रिय भए पनि तस्करी रोकिएको छैन । बंकुल, महादेवपट्टी,जयनगर,रामपुरखाप, बञ्जाराहा,औरैया,मठिया र नरकटिया नाकाबाट कुखुराको चल्ला,किराना सामान र कपडाको तस्करी तीव्र गतिमा भइरहेको छ । गौरको मुख्य नाका भएर भन्सार एजेन्टको खोलमा कौशल साहले तस्करको सेटिङ मिलाउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नाकाबाट मात्र दैनिक केही सामान बरामदजस्तो गर्ने गरे पनि मुख्य तथा ठूला तस्करसंग सेटिङ मिलाएर काम गराइरहेको समाचारस्रोतको भनाइ छ ।
गत मङ्सिर १६ गते सिराहाको बडहरी बेस क्याम्पमा कार्यरत सई लक्ष्मणप्रसाद यादवको मदिरा तस्करहरूले कचनारीमा मोटरले किचेर हत्या गरेका थिए ।
केही दिन पहिला जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक सरोज डल्लाकोटेले तस्करसंग सेटिङमा पैसा उठाउने गरेको गुनासो आएको भन्दै एसपी दिलिप घिमिरेको ध्यानार्कषण गराएको हल्ला छ ।
मधेस प्रदेशका आठ वटै जिल्लामा तस्करी नियन्त्रणभन्दा बाहिर गएको देखिएको छ । सुरक्षा निकाय,व्यापारी र स्थानीय स्रोतहरूका अनुसार सप्तरीदेखि पर्सासम्म तस्करीको सञ्जाल दिनानुदिन बलियो बन्दै गएको छ । सप्तरीको सखडा,तिलाठी,पातो, छुटकी,हनुमाननगर,साठी र तिलाठी नाकाबाट दैनिक ठूलो परिमाणमा मालसामान भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार भइरहेको छ ।
त्यस्तै सिराहाका माडर,ठान्डी,वियापट्टी, झाँझपट्टी र सुखीपुर हुँदै मदिरा,काजु, कपडा,मोटरपार्ट्स र किराना सामग्रीको तस्करी निर्बाध भइरहेको छ । जनकपुर क्षेत्रको जटही,फूलगाउँ,हर्नेहरनही, मुखियापट्टी र खजुरी क्षेत्रबाट पनि समान प्रकृतिको तस्करी जारी छ ।
महोत्तरी जिल्लाका सम्सी, मटिहानी, रामगोपालपुर, इटहरवा, पोखरभिण्डा, धिरापुर, रघुनाथपुर हुँदै र सर्लाहीको त्रिभुवननगर, गोरखकाली, मधुबनगोठ, बलरा र मधुबन भन्सार मार्ग तस्करहरूका लागि खुला बाटो बनेको छ ।
बाराको छतवा,बरैनिया,कवहीगोठ, मुसहरवा,पथलवाघाट र बलरामपुर नाकाबाट भैँसी,कुखुराको चल्ला, कपडा,खैनीलगायत सामानहरूको अवैध कारोबार भइरहेको स्रोतले जनाएको छ । उक्त क्षेत्रका सोहन यादव, चन्दन यादव,सरोज श्रीवास्तव र खेना नामक तस्करहरू खुलेआम कारोबारमा सक्रिय रहेको दाबी छ ।
पर्साको भिसुवा,अलौ,अमरपट्टी, जानकीटोला,भिखमपुर नाकाबाट भैँसी, चाइनिज स्याउ,खसी बोका,कपडा, काजु र कस्मेटिक सामानहरू तस्करी भइरहेको छ । अनिल,विवेक,मुख्तार, तमन्ना,राजु,हरदेव,सुवास तिवारी, सन्दीप चौरसिया,सञ्जय रौनियार र मुन्ना लगायत तस्करहरूको नाम खुलेको छ ।
गत मङ्सिर १६ गते सिराहाको बडहरी बेस क्याम्पमा कार्यरत सई लक्ष्मणप्रसाद यादवको मदिरा तस्करहरूले कचनारीमा मोटरले किचेर हत्या गरेका थिए । तर घटनामा संलग्न माथिल्लो तहका अधिकारीहरूलाई कारबाही नगरी तानातानमै मुद्दा मिलाइएको आरोप स्थानीयवासीले लगाउँदै आएका छन् ।प्रदेशभर तस्करी नियन्त्रणबारे चासो बढिरहे पनि कार्यान्वयनमा गम्भीर चुनौती देखिएको छ ।
टिप्पणीहरू