राप्रपा आक्रोशित, वैशाख १२ गते नेपाल बन्द

पार्टी अध्यक्ष राजेन्द्र लिंगदेन पक्राउ परेपछि राप्रपाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । उनी राजधानीमा आज दिउँसो निषेधित क्षेत्र तोड्न खोजेपछि सिंहदरबारभित्रैबाट अन्य नेताहरुसँगै पक्राउ परेका थिए ।
राप्रपाले लोकतन्त्र, जनअधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि कुठाराघात भएको जनाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज बेलुकीसम्म देशभरका पार्टी कार्यालयहरुले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्षको गिरफ्तारीमा विरोध जनाउँदै सामाजिक सञ्जालमा जनचेतना अभिवृद्धि गर्ने भनिएको छ ।
भोलि सबै जिल्ला सदरमुकामहरूमा विरोधसभा गरेर स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । पर्सि मुख्य शहरहरुमा शान्तिपूर्ण विरोध जुलुस निकाल्ने र कार्यकर्ताहरूले कालोपट्टी बाँधेर प्रदर्शन गर्ने भनिएको छ ।
बुधबार काठमाडौँ उपत्यकामा बृहत् प्रदर्शन गर्ने, माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्याली निकाल्ने राप्रपाको तयारी छ । त्यस्तै बैशाख ११ गते केन्द्रीय नेताहरुको सहभागितामा प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिने र बैशाख १२ गते नेपाल बन्दको कार्यक्रम राखिएको छ ।
टिप्पणीहरू