शिक्षकका जायज माग पूरा गर्न विश्वविद्यालयका विद्यार्थीको माग
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले शिक्षकहरुको जायज माग पूरा गर्न आग्रह गरेको छ । नेपाल शिक्षक महासंघले प्रस्तुत गरेका नौ बुँदे मागप्रति पूर्ण समर्थन जनाउँदै स्ववियुले ती माग पूरा गर्नुपर्ने बताएको छ ।
स्ववियु अध्यक्ष दिपकराज जोशीले विगतका सहमति र प्रतिबद्धताको सम्मान गर्दै शिक्षकसँग तुरुन्त निष्कर्षमुखी संवाद गरी पठनपाठन सुचारुको वातावरण बनाउन आग्रह गरेका छन् । आज जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक आन्दोलनका कारण पठनपाठन अवरुद्ध हुन पुगेको गम्भीर अवस्थामा समेत सरकारले आवश्यक संवेदनशीलता नदेखाएकोप्रति हामी अत्यन्त निराश छौं ।’
‘विगतका सहमति र प्रतिबद्धताको सम्मान गर्दै आन्दोलनरत शिक्षकहरुसँग तुरुन्त निष्कर्षमुखी संवाद गरी पठनपाठन पुनः थाल्ने वातावरण बनाउन विद्यार्थीहरुको आग्रह छ । शान्तिपूर्ण भद्र अवज्ञाको शक्तिलाई अवमूल्यन नगर्न र लोकतान्त्रिक प्रक्रियाबाट सहमतिमा पुग्न सरकारलाई गम्भीर र प्रतिबद्ध बन्न सुझाइएको छ ।
शिक्षक र विद्यार्थीप्रति कुनै पनि किसिमको दमन र उपेक्षा स्वीकार्य नहुनेसमेत बताइएको छ । सरकारले दमनको बाटो रोजेमा लोकतन्त्र र विद्यार्थी हितका पक्षमा सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।
टिप्पणीहरू