प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न ‘जुसको इजाजत लिएर मदिरा बेच्न मिल्छ ?

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानबाट पार्टी कार्यालय हटाउन आग्रह गरेका हुन् । 

समाजिक सेवाका गतिविधि हुनुपर्ने प्रतिष्ठानमा कुनै व्यक्तिले कब्जा गर्न नपाइने साहको तर्क छ । ‘प्रतिष्ठानमा प्रधानमन्त्रीको पार्टीको कार्यालय छ, प्रतिष्ठान समाजिक संस्था हो कि व्यापारिक संस्था ?’, उनले भने, ‘भएभरका प्रतिष्ठानहरु नेताहरुको लागि लुट्ने भाँडो भएको छ ।’

पूर्वमन्त्री समेत रहेका साहले उक्त प्रतिष्ठान व्यापारिक संस्था भए आफ्नो पार्टीले एमालेको भन्दा बढी भाडा दिन तयार रहेको पनि बताए । ‘त्यो व्यापारिक संस्था हो भने प्रधानमन्त्रीको पार्टीलेभन्दा मेरो पार्टीले धेरै भाडा दिन्छ’, उनले थपे । 

फरक प्रसंगमा साहले नाकामा खटिएका भन्सारका कर्मचारी र सुरक्षाकर्मीलाई गुप्त पुरष्कृत गर्ने प्रावधान हटाउनुपर्ने बताए । ‘भन्सार छली नहोस् भनेर सरकारले त्यहाँ कर्मचारी र सुरक्षाकर्मी खटाएको हो नि, तलब भत्ता त लिन्छन्’, उनले अघि भने, ‘तर त्यहाँ जफत हुने, बरामद हुने सामान सम्पतिको आधा भाग पुरस्कार दिइने प्रवाधान हटाउनुपर्छ । एक क्वीन्टल सुन समात्दा ४५ केजी पुस्कार रे ? यस्तो पनि हुन्छ ?’
 

टिप्पणीहरू