काँग्रेस-एमालेलाई प्रचण्डको शुभकामना : ०८४ सम्मै गठबन्धन टिकिरहोस्

काँग्रेस-एमालेलाई प्रचण्डको शुभकामना : ०८४ सम्मै गठबन्धन टिकिरहोस्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अन्त्यका लागि अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्नुपर्नेमा जोड दिनुभएको छ । 

आज काठमाडौँमा आयोजित १३६औँ अन्तराष्ट्रिय श्रमिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो धारणा राख्नुभएको हो । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने प्रणाली मुलुकका लागि अपरिहार्य बन्दै गएको प्रचण्डको धारणा छ ।

‘यो देशमा जति पनि भ्रष्टाचार भएका छन्, त्यसको एउटा मुख्य कारक भन्या शासकीय स्वरुप नै हो’, उहाँले भन्नुभयो, ‘अब हामी प्रत्यक्ष निर्वाचित कार्यकारी चाहन्छौ, निर्वाचन प्रणालीमाथि पनि विचार गरेर समानुपातिक प्रणालीमा जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

अध्यक्ष प्रचण्डले नयाँ आन्दोलनको समय चाँडै आउन लागेको र त्यसको लागि तयार रहन क्रान्तिकारी युवा र मजदुरहरुलाई आग्रह पनि गर्नुभयो । ‘क्रान्तिकारीहरुको काँधमा ठूलो जिम्मेवारी आएको छ, यो सानो तिनो कुरा हैन, तयार रहनुहोस् एउटा शान्तिपूण नयाँ आन्दोलनको लागि, एउटा अभियानको लागि, एउटा परिवर्तनको लागि’, उहाँले थप्नुभयो । 

वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्म जाओस् भन्दै उहाँले शुभकामना पनि दिनुभयो । अघि भन्नुभयो, ‘हामीले कमी कमजोरी सच्याउँन आफ्नो वर्गमा गएका छौ, जनतामा गएका छौँ, एकैचोटी ०८४ मा आफ्नै खुट्टामा उभिएर आउछौँ, त्यतिञ्जेल यही गठबन्धन टिकिरहोस् ।’
 

टिप्पणीहरू