बिजुली निभ्न थालेपछि लोडसेडिङको याद

बिजुली निभ्न  थालेपछि लोडसेडिङको याद
सुन्नुहोस्

केही समययता विद्युत प्रवाह अवरुद्ध हुन थालेको छ । काठमाडौं उपत्यकासहित देशभर दिनमा तीन–चार पटकसम्म लामो समय बत्ती जान थालेपछि सर्वसाधारणले पहिलेको १८ घण्टे लोडसेडिङ सम्झन थालेका हुन् । 

हिजो साँझ उपत्यकाका अधिकांश स्थानमा झण्डै तीन घण्टा बत्ती गयो । साँझ साढे ५ बजेदेखि अवरुद्ध बिजुली नआएपछि टुकी, मैनबत्तिको खोजीमा सर्वसाधारण देखिए ।  त्यहि समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘वाह वाह प्रधानमन्त्रीज्यू ...यो कस्तो कमाल गर्नुभयो । सालो केटो विद्युतमा ल्याएर, अन्धकारको धमाल गर्नुभयो । अघोषित लोडसेडिङ सुरुवात गर्नुभो ।’

ललितपुरको इमाडोल क्षेत्रमा एक घण्टादेखि बिजुली गएर अन्धकार छाइरहेको बताउँदै उनले अन्य कतै बिजुली गएको भएमा कमेन्टमा लेख्न आग्रह गरे । नभन्दै कमेन्टमा बत्ती गयो भनेर लेख्नेहरुको ओइरो लाग्यो । देशभर नै लोडसेडिङ शुरु भएको संकेत भन्दै धेरैले लेखे ।  

शाहीको पोस्टमा अधिकांशले बत्ती गएको कमेन्ट गरेका छन् । लंक शाहीले भने, ‘कैलालीको घोडाघोडी नगरपालिका–८, मा दिनमै १०–१५ चोटी बिजुली जान्छ ।’ ‘काभ्रेको भकुन्डेवेशीमा साँझ ५ बजेदेखि ९ बजेसम्म बत्ति गयो । कुलमान हटाएको प्रतिफल,’ मथुरा घिमिरे गजुरेलको भनाइ छ । 
नवराज लामाले लेखेका छन्, ‘चितवनमा झन् दिनमा दुई घण्टा अनि रातमा दुई घण्टा लोडसेडिङ ।’ ‘माननीयज्यू प्रधानमन्त्रीको आफ्नै गृहजिल्लामा त एक घण्टाबाट लाइन छैन, सालो केटोले गर्ने गर्यो,’ बासु फुयालले भनेका छन् । पोखरामा दैनिक दुई–तीन घण्टा बिजुली गइरहेको होटल द गेटवाला पोखराले जनाएको छ । 

‘रुपन्देहीको तापक्रम ४०–४१ डिग्री सेल्सियस छ । यस्तो अवस्थामा दिनको ३–४ चोटि लगभग ३० मिनेटदेखि १ घण्टाभन्दा माथि लाइन काटेर के गर्न खोजिएको ? जनतालाई यत्रो सास्ती किन दिइरहेको ?,’ अर्का एक जनाको प्रश्न छ । 

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले अघोषित लोडसेडिङ भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । लोडसेडिङ भएकोमा ऊर्जामन्त्रीलाई धन्यवाद दिने कि विद्युत प्राधिकरणका नयाँ एमडीलाई भन्दै उनले प्रश्नसमेत गरे । 

‘अहिले न हावा, न पानी, त्यही पनि झ्याप्प बिजुली जान्छ,’ शाहले भने, ‘अब धन्यवाद ऊर्जामन्त्रीलाई दिने कि नयाँ एमडीलाई दिने हो ? सरकारले स्पष्ट पारिदिनुपर्यो ।’ पछिल्लो समय देशभर बिजुली गइरहने गुनासो व्यापक बन्दै गएको छ । पटकपटक बत्ति जान थालेपछि आम सर्वसाधारण आक्रोशित भएका छन् । सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरण र कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमाथि गालीको वर्षा भइरहेको छ ।

मुलुक लोडसेडिङमुक्त घोषणा भइसकेको अवस्थामा समेत बारम्बार बिजुली जान थालेपछि प्राधिकरण नेतृत्व र व्यवस्थापनमाथि प्रश्न उठेको छ । सामाजिक सञ्जालमै भेटिएको छ, ‘२१औँ शताब्दीमा बसेर बिजुली नहुनु भनेको हामी तेस्रो विश्वका, अविकसित र गरिब देश हौं भन्ने प्रमाणजस्तो देखिन्छ । तर, यो सत्य होइन । केही वर्षअघिसम्म जब विद्युत् प्राधिकरणमा इमानदार र सक्षम नेतृत्व थियो, लोडसेडिङ सकिएको थियो । आज फेरि अन्धकार फर्किएको छ । यो केबल बिजुलीको मात्र समस्या होइन, यो नेतृत्व र व्यवस्थापनको असफलता हो । अब चुप लागेर बस्ने होइन, आवाज उठाउने बेला हो । हामीसँग पर्याप्त जलविद्युत् छ, तर जिम्मेवार नेतृत्व चाहिन्छ ।’

सात वर्षअघि लोडसेडिङमुक्त घोषणा, अहिले पुरानै अवस्था

सरकारले २०७५ वैशाख ३१ गते लोडसेडिङ अन्त्यको घोषणा गरेको थियो । नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले मुलुकलाई लोडसेडिङमुक्त देश घोषणा गरेका थिए । त्यसअघि दैनिक तीनदेखि १८ घण्टासम्म लोडसेडिङ हुने गर्दथ्यो । लोडसेडिङ अन्त्य घोषणाको सात वर्षपछि पुनः उही अवस्था आएको छ । 

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई सरकारले नियुक्त गरेसँगै लोडसेङिङले फेरि पनि चर्चा पाएको छ । गत चैत ११ गतेको क्याबिनेट बैठकले घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो । 

त्यसयता देशभर लोडसेडिङको समस्या बढ्दै गएको छ । अहिले सदनदेखि घरघरमा लोडसेडिङकै चर्चा छ । पछिल्लो समय अघोषित लोडसेडिङ भइरहेको गुनासो जताततै सुनिन्छ । कतिपयले लोडसेडिङको तालिका सार्वजनिक गर्न मात्र बाँकी रहेको भन्दै प्राधिकरणमाथि व्यङ्ग्यसमेत गर्न थालेका छन् । 

लोडसेडिङ नभएको महिनामै पाँच वटा विज्ञप्ति 

पछिल्लो एक महिनामा विद्युत प्राधिकरणले लोडसेडिङ नभएको भन्दै पाँच वटा विज्ञप्ति निकालेको छ । चैत ३१ गते, वैशाख १० गते, वैशाख १४, वैशाख ३१ र जेठ १ गते विज्ञप्ति जारी गरिएको छ । 

ती विज्ञप्तिमा लोडसेडिङको हल्ला फिँजाइएको जनाउँदै प्राधिकरणले लोडसेडिङको आरोप अस्वीकार गरेको छ । सबैजसो विज्ञप्तिमा बत्ति बेला बेलामा जानुमा मौसमका कारण विद्युतीय संरचनामा भएको क्षति तथा प्राविधिक समस्यालाई दोष दिइएको छ । 

प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा पनि सोही कुरा दोहोर्याउँदै भनिएको छ, ‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडी अब इन्भर्टर र मैन बत्तिको दिन आयो भन्दै सामाजिक सञ्जालमा अभिव्यक्त भनाइप्रति कति पनि सत्यता नरहेको र अब नेपालमा पुनः लोडसेडिङ शुरु हुने दिन आउँदै नआउने व्यहोरा आम उपभोक्तालाई जानकारी गराउँदछौं ।’

नेतृत्व फेरिएर होइन : शाक्य

बढ्दो बिजुली जाने समस्यासँगै सर्वसाधारणबाट निकै गाली खाएका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भने नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् । आजको पत्रकार सम्मेलनमा उनले मौसमी कारणले विद्युत आपूर्तिमा समस्या निम्तिएको जिकिर गरे । विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस्तो समस्या आउने गरेको बताउँदै शाक्यले बत्ति जानुमा अन्य कुनै कारण नभएको दाबी गरे । 

‘हावाहुरी र पानीको समयमा सुख्खायाममा बसेका धुलोहरु पानीको समयमा सिपेजका कारण ट्रिप हुने भएकाले पाँच सात दिन समस्या आउँछ । अन्य कारण केही छैन,’ उनले भने । हिजो बेलुकीको सम्बन्धमा पश्चिमको लाइन ट्रिपलाई कारण देखाउँदै शाक्य पन्छिए । 

भने, ‘पश्चिमको लाइन ट्रिप भएका कारणले करिब २ घण्टा विद्युत प्रशारण अवरोध भएको हो । करिब ८ बजेमात्र ढल्केबर–मजफरपुर प्रशारणलाईन नियमित भएसँगै विद्युत आपूर्ति सहज भयो । त्यसैले, ढल्केबर–मजफरपुर लाइन कति महत्वपूर्ण छ भन्नेकुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ ।’

टिप्पणीहरू